प्रधानमन्त्री ओलीले विश्वासको मत गुमाए (मतसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । १५ जना सांसद तटस्थ रहे । बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए ।

विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले)लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो ।

jutta mela

प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले मतदात गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गरे । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात १३६ मत प्राप्त गर्न आवश्यक पथ्र्यो । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।

एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।

You might also like

Comments are closed.