कर्माचार्यले बृद्ध भत्तामा अन्य रकम थपी वार्षिक पुरस्कार प्रदान गर्ने

पोखरा । पोखराका अग्रज उद्योगी तथा व्यवसायी चन्द्रकृष्ण कर्माचार्य गत फागुनदेखि उमेरले ७० वर्ष पार गरेका छन् । २००७ फागुन ७ गते जन्मिएका कर्माचार्यले अन्य ज्येष्ठ नागरिकले सरह गत फागुनबाट बृद्धभत्ता पाउन सुरु गरेका छन् ।

कर्माचार्य ग्रुपका सञ्चालक उनले आफूले पाउने बृद्ध भत्ता बापतको रकम परोपकारको काममा खर्चने भएका छन् । ज्येष्ठ नागरिक तथा बृद्धाश्रमसँग सम्बन्धित क्षेत्रमा कलम चलाउने गण्डकी प्रदेशका पत्रकार वा अन्य व्यक्तिलाई पुरस्कृत गर्ने उनले घोषणा गरेका हुन् ।

बृद्ध भत्ता बापतको रकममा अन्य रकम थप गरी वार्षिक १ लाख १ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने कर्माचार्यले आर्थिक आवाजलाई जानकारी दिए । पुरस्कारको व्यवस्थापन तथा हस्तान्तरण लेखनाथ उद्योग वाणिज्य संघले गर्नेछ ।

कर्माचार्य लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन् । धेरै ज्येष्ठ नागरिकले दुःख पाउने गरेको बताउँदै कर्माचार्यले ज्येष्ठ नागरिकलाई सबैले सम्मान गर्नुपर्ने बताउँछन् ।

यस वर्षको पहिलो पुरस्कार संघको वार्षिकोत्सवको अवसरमा भदौ १८ गते शुक्रबार वितरण गरिने कार्यक्रम रहेको अध्यक्ष बलराम ढकालले जानकारी दिए ।

You might also like

Comments are closed.