विजय रावत, खलङ्गा । जुम्लाको गुठीचौर गाउँपालिकामा सिम्पलको फाइबर इन्टरनेट सेवा सञ्चालनमा आएको छ ।
गुठीचौर गाउँपालिकाको–५ वडा कार्यालयसहित अन्य स्थानीयवासीको घरमा फाइबर इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । रु १५ लाखको लागत साझेदारीमा उक्त इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ । जुम्ला बजार हुँदै फाइबर लाइन गुठीचौर गाउँपालिका–३ गज्याङकोट गाउँसम्म जडान गरिएको छ । वडा नं ५ का अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार अहिले यो वडामा ६१६ घरधुरी छन् । सबै घरधुरीमा विस्तार हुने गरी इन्टरनेटको फाइबर लाइन विस्तार भएको छ ।
“इच्छुक नागरिकले आवश्यकताका आधारमा आफ्नो घरमा इन्टरनेट लाइन जडान गर्न सक्ने गरी लाइन विस्तार गरिएको छ”, उनले भने, “अहिले वडापालिकाको सहयोगमा लाइन जडान भए पनि मासिक इन्टरनेट चार्ज भने स्थानीयवासी आफैँले तिर्नुपर्नेछ । सिम्पलको फाइबर टू होम इन्टरनेट सेवा गुठीचौर गाउँपालिका–३, ४ र ५ मा विस्तार भएको वडाध्यक्ष नेपालीको भनाइ छ ।
यस्तै चन्दननाथ नगरपालिका सदरमुकाम खलङ्गामा पनि सिम्पल फाइबर इन्टरनेट सेवाको लाइन विस्तार गरिएको छ । डिभाइसभन्दा पनि फाइबर इन्टरनेट लाइन विस्तार भएपछि इन्टरनेट द्रुतगतिमा चल्ने गरेको स्थानीयवासी बताउँछन् । सिम्पल इन्टरनेटले जुम्लाका आठ स्थानीय तहसँगै साबिक कर्णालीका चार जिल्लामा समेत इन्टरनेट सेवा दिँदै आएको छ ।
अहिले फाइबर टू होम इन्टरनेट सेवा सदरमुकाम केन्द्रित भए पनि आवश्यकताअनुसार गाउँगाउँमा समेत पु¥याइनेछ । नेपाल टेलिकमभन्दा सिम्पलको इन्टरनेट सेवा छिटो हुने अध्यक्ष प्रतिभा शाहीको दाबी छ । यद्यपि, नेपाल टेलिकमले क्षमता विस्तारको काम द्रुतगतिमा भइरहेको छ ।
Comments are closed.