सयपत्री सहकारी रोल मोडल : पराजुली

पोखरा । सयपत्री सहकारीलाई अन्तर्राष्ट्रिय स्तरको सस्था बनाउन रोल मोडलको भूमिका निभाउन सक्नुपर्ने सहकारी रजिस्टार उदयबहादुर पराजुलीले बताएका छन् । सयपत्री बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिकोत्सव तथा ८ औं खुल्ला रक्तदान कार्यक्रममा ब्लड व्याग हस्तान्तरण गर्दै भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका रजिस्टार पराजुलीले विश्वमा सहकारीमार्फत् धेरै परिवर्तन भएको बताएका छन् । सयपत्री सहकारीलाई विश्वमा परिचित बनाउन भिन्न तवरबाट आवद्ध सेयर सदस्यलाई एकद्वार प्रणालीबाट आर्थिक कारोबार गर्न सुझाए ।

सहकारीका उपाध्यक्ष भिमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा सहकारी रजिष्टार कार्यालयका रजिष्टार पराजुलीले विश्वमा सरकार र सहकारीलेमात्र अरुको हित चाहने गरेको बताए । अरुको सेवा गर्ने भनेकै सहकारीले हो, उनले थपे, ‘सामाजिक उत्तरदायित्व वहन गर्ने नै सहकारीले हो ।’ सहकारीका सचिव कृष्णप्रसाद आचार्यको सञ्चालनमा भएको सभामा कार्यक्रम संयोजक वसन्तराज कोइरालाले स्वागत गरेका थिए ।

१२ करोड ९८ लाख ३० हजार सेयर पुँजी रहेको सयपत्री सहकारीले १ अर्ब ४० करोड ५८ लाख निक्षेप रहेको कोषाध्यक्ष धर्मप्रसाद बास्तोलाले जानकारी दिए । १ अर्ब ३५ करोड ५० लाख कर्जा लगानी गरेको सहकारीको ८ करोड ६४ लाख रुपैयाँ जगेडा कोषमा रहेको बास्तोलाले जानकारी दिए । कोषाध्यक्ष बास्तोलाले ५ करोड ३१ लाख ५३ हजार स्थिर सम्पत्ती रहेको जानकारी दिए । कार्यक्रममा व्यवस्थापक विकास सुवेदीले कर्जा नोक्सानी ७ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको जानकारी दिए ।

रक्तदान कार्यक्रममा पोखरा १२ का अध्यक्ष रामबहादुर कार्की, पोखरा ११ का अध्यक्ष मोहनप्रसाद बास्तोला, पूर्व अध्यक्ष विश्वराज बास्तोला लगायतले बोलेका थिए । रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका छन् । सहकारीको ७ सिद्धान्त शिक्षा समितिका सदस्य प्रमिला श्रेष्ठले वाचन गरेकी थिइन् ।

 

You might also like

Comments are closed.