संक्रमणको जोखिम भएपछि हुम्लाका विद्यालय पुनः बन्द हुने

सिमकोट । केही दिनअघि हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले संचालनमा ल्याएका सामुदायिक विद्यालय पुनः बन्द गर्ने निर्णय भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणदर नघटेको निष्कर्ष निकाल्दै संचालनमा आएका ती विद्यालय पुनः बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा संचालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए ।

ताँजकोट र अदानचुलीकाका प्रमुख प्रशासकीय अधिकृतलाई शुक्रबार बसेको जिल्लाको डिसीसिएमसी बैठकपछि विद्यालय संचालन नगर्न फोनमार्फत जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए । त्यस क्षेत्रका कतिपय स्थानमा टेलिफोनले राम्रोसँग काम नगरेका कारण अझै स्पष्ट जानकारी हुन नसकेको उनले बताए ।

गाउँगाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा विद्यालयमा संचालन गर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

चंखेलीमा गत असार २९, ताँजाकोटमा साउन १५ र अदानचुलीमा साउन २० गतेबाट विद्यालय संचालन हुँदै आएको छ । तीनवटा गाउँपालिकामा पठनपाठन भइरहेका ६६ वटा विद्यालय पुनः बन्द हुने भएका हुन् ।

विद्यालयमा विद्यार्थीको भीडभाड बढी हुने र यसबाट संक्रमण बढ्न सक्ने भएका कारण बन्द गर्न जिल्ला शिक्षा समन्वय एकाइ प्रमुखलाई जानकारी गराइएको र डिसीसिएमसीको बैठकले जिल्लामा पठनपाठन भइरहेका विद्यालय बन्द गर्ने निर्णय गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी राईले बताए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.