झण्डै १३ हजार जना विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा

गलकोट । बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–६ को नर्जाखानीस्थित निकै दुर्गम गाउँको विष्णु आधारभूत विद्यालय परिसरमा खानेपानीको सुविधा थिएन । एक सय ७० भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयका विद्यार्थी शुद्ध खानेपानीका लागि कष्ट झेल्दै आएका थिए ।

विद्यालय नजिकैको सामुदायिक धारोमा निर्भर हुनुपर्ने बाध्यता रहेकामा अहिले विद्यालय परिसरभित्रै खानेपानी धारा बनेको छ । विसं २०४६ मा स्थापना भएको विद्यालयमा अहिले कक्षा १ देखि ८ सम्म पढाइ हुन्छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)ले रु आठ लाख खर्च गरेर विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याएको हो । विद्यालयभन्दा एक हजार ८०० मिटरमाथिको खेतापानी मुहानबाट विद्यालयमा छुट्टै पाइपलाइन विस्तार गरी खानेपानी ल्याइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण छन्त्यालले बताए ।

“विद्यालय परिसरमा खानेपानीको पहुँच थिएन, विद्यालय नजिकैको सामुदायिक धारामा खानेपानीको भर पर्नुपर्ने हुन्थ्यो,” छन्त्यालले भने, “पुनःनिर्माण प्राधिकरणले विद्यालयमै खानेपानी ल्याउने, ट्याङ्की निर्माण गर्ने र शुद्धीकरणका लागि यूरोगार्डसमेत जडान गरेको छ, यसले विद्यार्थीलाई शुद्ध खानेपानीको व्यवस्थापन भएको छ ।” उक्त विद्यालयमा चार कोठे भवनसमेत पुनःनिर्माण भइसकेको छ ।

विद्यालय भवन र विद्यालयमा शौचालय निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा)ले आर्थिक वर्ष २०७६/७७ सालदेखि खानेपानीको अभाव झेलिरहेका विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याउन थालेको हो । कार्यालयले हालसम्म नर्जाखानीको विष्णु आधारभूत विद्यालय जस्तै जिल्लाका ३१ विद्यालयका झण्डै १३ हजार विद्यार्थीका लागि शुद्ध खानेपानीको सहज व्यवस्थापन गरिसकेको जनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा शुरु भएका ३१ विद्यालयमा सञ्चालित खानेपानी आयोजनामा ३० विद्यालयमा सम्पन्न भइसकेको र नेपाल माध्यमिक विद्यालय ताराखोलामा सम्पन्न हुन बाँकी रहेको राष्ट्रिय एकाइ प्रमुख मोतिलाल चपाईंले जानकारी दिए । “जिल्लाका ३१ विद्यालयमा सञ्चालित खानेपानी योजनाको काम सकिएको छ, झण्डै १३ हजार विद्यार्थी शुद्ध खानेपानीको पहुँचमा पुगेका छन्”, चपाईंले भने, “कतिपय विद्यालयमा खानेपानी मर्मत, ट्याङ्की र युरोगार्ड राखिएको छ भने कतिपय विद्यालयमा नयाँ खानेपानी योजनाबाट पानीको व्यवस्था गरिएको छ ।” एकतीस विद्यालयमा शुद्धीकरणका लागि यूरोगार्ड जडान गरिएकाले सबै विद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध हुनेछ ।

कुनै विद्यालयमा पहिले नै खानेपानीको व्यवस्था भए पनि शुद्धीकरण र खानेपानी संकलन ट्याङ्कीकोे भने पर्याप्त व्यवस्थापन थिएन । प्रत्येक विद्यालयमा १२ हजार लिटरको भूइँ ट्याङ्की, आवश्यकताअनुसार माथि तान्न्ने पम्पको व्यवस्था, शुद्धीकरण आँजार र धारो निर्माण गरिएको छ । विद्यालयमा विद्यार्थीको चाप सङ्ख्याको आधारमा यूरोगार्ड जडान गरिएको छ ।

रु एक लाखदेखि चार लाखसम्मको यूरोगार्ड मात्रै जडान गरिएको छ । विद्यार्थी सङ्ख्याको आधारमा ३१ विद्यालयमा रु चार लाखदेखि रु आठ लाख ५० हजारसम्मको बजेट विनियोजन गरेर शुद्ध खानेपानीको पहुँच पु¥याइएको हो । भइरहेको खानेपानी मर्मत, नयाँ खानेपानी आयोजनालगायतका काम सोही बजेटभित्रै समावेश गरिएको छ । समथर भागमा रहेका स्कुलमा पानी तान्ने पम्पसमेत जडान गरिएको शिक्षा एकाइका प्रमुख चपाईंले बताए ।

विद्यार्थीका लागि शुद्ध खानेपानी उपलब्ध गराउन उच्चस्तरीय इलेक्ट्रिक मेसिन यूरोगार्डद्वारा फिल्टर गरिएको खानेपानी विद्यालयमा वितरण गरिएको छ । खानेपानीको समस्या रहेको जिल्लाको काठेखोला गाउँपालिकाका कादेश आधारभूत विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, जनकल्याण आधारभूत विद्यालय, रेश नुन्थला माध्यमिक विद्यालय जैमिनी नगरपालिकाको सुन्तलाचौर माध्यमिक विद्यालय, ढोरपाटन नगरपालिकाको उत्तरगङ्गा माध्यमिक विद्यालय, अर्नाकोट आधारभूत विद्यालयमा खानेपानी योजनाको काम गरिएको छ ।

यसैगरी तमानखोलाको सरस्वती आधारभूत विद्यालय, विष्णु आधारभूत विद्यालय, बागलुङ नगरपालिकाको विद्यामन्दिर माध्यमिक विद्यालय, श्री गणेश माध्यमिक विद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय, सिगाना माध्यमिक विद्यालय, लक्ष्मीनारयण आधारभूत विद्यालय, पृथ्वी हिरण्य माध्यमिक विद्यालय, तितौरे माध्यमिक विद्यालय, विश्वकर्मा माध्यमिक विद्यालय, मालिका माध्यमिक विद्यालय र चौतारेडाँडा माध्यमिक विद्यालयमा शुद्ध खानेपानीको पहुँच पु¥याइएको छ ।

ताराखोला गाउँपालिकाको अर्गल माध्यमिक विद्यालय, प्रजातन्त्र विकास विद्यालय, दुर्गाभवानी माध्यमिक विद्यालय, निसीखोला गाउँपालिकाको जनजीवराज सुशील माध्यमिक विद्यालय, जनहित आधारभूत विद्यालय, बडिगाड गाउँपालिकाको श्री सिद्ध माध्यमिक विद्यालय, पौदीटारी प्रावि, खड्गदेवी माध्यमिक विद्यालय, त्रिभुवन नमूना माध्यमिक विद्यालय र बरेङ गाउँपालिकाको शारदा माध्यमिक विद्यालय र पुरुषोदय माध्यमिक विद्यालयमा शुद्ध खानेपानी व्यवस्थापन गरिएको छ ।

You might also like

Comments are closed.