सेती नदी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल सामान उपलब्ध गराउन सम्झौता

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिका निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाका लागि अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोले इलेक्ट्रोमेकानिकल तर्फका सामानहरु उपलब्ध गराउने भएको छ । परियोजनाको प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र अष्ट्रियन कम्पनी ग्लोबल हाइड्रोबीच यस सम्बन्धमा बुधबार सम्झौता भएको छ ।

सम्झौता पत्रमा भिजन लुम्बिनी ऊर्जा विकास कम्पनीका कार्यकारी अधिकृत जगतबहादुर पोखरेल र ग्लोबल हाइड्रोका तर्फबाट टेकचन्द्र सेरातवले हस्ताक्षर गरेका छन् । भिजन लुम्बिनी ऊर्जाका वरिष्ठ सल्लाहकार गणेशबहादुर श्रेष्ठ, नेगोसियसन समिति सदस्य रामगोपाल खर्बुजा, सन्तोष कुमार प्रधान, बासुदेव अधिकारी, मनोहर श्रेष्ठ तथा ग्लोेबल हाइड्रोका तर्फबाट एवल्द कार्ल (एमडि) टेकचन्द्र सेरावत लगायतको उपस्थिति थियो ।

यसैबीच, उक्त परियोजनाका लागि एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्दैछन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ«े गाउँपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् ।

भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.