काठमाडौं । भेन्चुरा बोटलर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत कविन अर्यालले नेपालमा कोला इन्डष्ट्रिजमा नयाँ पनको आवश्यकता महसुस गरी अमेरिकी ब्रान्ड ‘आरसी कोला’लाई नेपाली बजारमा भित्र्याएको बताएका छन् । कम्पनीले मकवानपुरको मनहरीमा प्लान्ट स्थापना गरी सफ्ट पेय पदार्थ कोलाको उत्पादन सुरु गरिसकेको छ । राजधानी काठमाडौंसहित देशभरका मुख्य शहरमा उत्पादन पुगिसकेको अर्यालले आर्थिक आवाजलाई जानकारी दिए ।
अत्याधुनिक प्रविधिसहितको प्लान्टबाट अन्तर्राष्ट्रिय गुणस्तरमा कुनै कमी नआउने गरी आरसी कोला उत्पादन भइरहेको अर्यालले बताए । कम्पनीले अहिले ६ वटा विभिन्न फ्लेबरमा प्रडक्ट उत्पादन गरिरहेको छ । ‘नेपाली पानीको समिश्रण गरि आरसी कोला उत्पादन सुरू भएको हो,’ उनले भने । सन् १९०५ देखि उत्पादन सुरु गरिएको अमेरिकी मौलिक सफ्ट पेय पदार्थलाई नेपाली बजारमा उपलब्ध गराउन पाउँदा आफूहरु उत्साही रहेको अर्यालले बताए ।
कम्पनीले हालसम्म ७० वटा डिलर नियुक्त गरिसकेको छ । आगामी दिनमा २ सय वटा डिलर नेटवर्क विस्तार गरिने उनले बताए । ‘अहिले ६ वटा फ्लेबर उपलब्ध रहेपनि आगामी दिनमा ८ वटा फ्लेबर नेपाली बजारमा उपलब्ध हुनेछ,’ उनले भने । अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय रहेको आरसी कोला नेपाली बजारमा लोकप्रिय हुनेमा आफूहरु विश्वस्त रहेको अर्यालकोे भनाइ छ । ‘हामी निकै उत्साही छौं । अहिले कोभिडका कारणले सोचेजस्तो बजार विस्तार नभएपनि आगामी दिनमा यसको बिस्तार बढ्नेछ,’ उनले भने, ‘हामी जहाँ पुगेका छौं त्यहाँबाट राम्रो प्रतिक्रिया पाइरहेका छौं ।’
Comments are closed.