पोखरा, १३ मंसीर
‘सफल एक्स्पो पोखरा’ विहीबारदेखी पोखरामा शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा विगत वर्षहरुमा हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिमार्जित रुप ‘सफल एक्स्पो पोखरा’ विहीबारदेखी पोखरा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको हो । मंसीर २४ गतेसम्म सञ्चालन हुने एक्स्पोको गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विहीबार एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले ठूला परियोजनामा लगानी गर्न उद्योगी÷व्यवसायीलाई आग्रह गरे । लगानीको वातावरण बनाउन प्रदेश सरकार तयार रहेको बताउँदै उनले भने,‘तपाईंहरु ठूला परियोजनामा लगानी गर्नुस्, हामी लगानीको सुरक्षा गर्ने वातावरण बनाउन तयार छौं ।’ उनले गण्डकी प्रदेशमा स्थापित उद्योग÷व्यवसायको नाफाको ज्ञारेन्टी गरिनेपनि बताए । मुख्यमन्त्री गुरुङले एकद्धार प्रणालीमार्फत उद्योग दर्ता गर्ने वातावरण बनाउनेपनि प्रतिबद्धता जनाए ।
मुख्यमन्त्री गुरुङले अब गण्डकी प्रदेशमा विकासले गति लिने दाबी गरे । प्रदेश सरकारलाई आवश्यक मध्ये करीब ८० प्रतिशत कर्मचारी कार्यालयमा हाजिर हुन आइसकेकाले अब कर्मचारी अभाव नहुने भएकाले कामले गति लिने उनको भनाई थियो । उनले विकास निर्माणका परियोजनाहरुलाई कम्तिमा वैशाख ३० गतेभित्र नै सम्पन्न गर्न मातहतका निकायलाई निर्देशन दिएको जानकारी गराए । बजेट सक्ने हिसाबले असारमा काम नगर्ने बताउँदै उनले ढिलोमा जेठ १५ गतेभित्र योजना सम्पन्न हुने बताए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सुशासनको कमी तथा तीन तहका सरकारबीच सामानजस्यताको अभावमा लगानीकर्ताहरु उत्साहित हुन नसकेको बताए । राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा लिप्त हुने तथा घुस नखुवाई कामै नहुने परिपाटी अन्त्य नभएसम्म देशका आन्तरिक र बाह्य लगानी आकर्षित हुन नसक्ने उनले ठोकुवा नै गरे ।
आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले राजनीतिक अस्थिरतालाई दोष देखाएर सम्वृद्धि हाँसिल हुन सकेन भन्ने छुट राजनीतिक नेतृत्वले नपाउने बताए । उनले प्रदेश र स्थानिय सरकारको गति अत्यन्त सुस्त भएको भन्दै गति बढाउन सुझाव दिए । उनले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले केन्द्र सरकारसँग गरेको गुनासो दिनहुँ सुन्दा पुनः उहि असारे विकासको नीति दोहोरिने आशंका उब्जाएको बताउँदै यो शुभ संकेत नभएको बताए । उनले यहि गतिमा सरकार अघि बढ्ने हो भने घर घरमा सिंहदरबार आउँछ भनेर बसेका नागरिकको धैर्यताको बाँध टुट्ने चेतावनी दिए ।
तेस्रो मोवाइल मेलासमेत जोडेर आयोजना गर्न लागिएको ‘सफल एक्स्पो पोखरा’ मंसीर २४ गतेसम्म जारी रहनेछ । एक्स्पोमा ३ सय स्टल रहेका छन् । एक्स्पोमा पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउनु तथा गण्डकी प्रदेश र खासगरी पोखराको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीमा पनि एक्स्पो समर्पित रहेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । एक्सपोमा मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यबस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामग्री, अटो प्रदर्शनी, महिलाहरुका उत्पादनहरु, रेष्टुरेण्टहरु रहेका छन् ।
एक्स्पोमा पहिलोपटक छुट्टै औद्योगिक पेभेलियन राखिएको छ । औद्योगिक पेभेलियनमा पोखरा औद्योगिक क्षेत्रका २० वटा उद्योगका स्टल राखिएको अध्यक्ष अधिकारीले बताए । एक्स्पोमा यस पटक पर्यटनको पनि स्टल राखिएको छ भने यसपटक एक्स्पोमा मोवाइल मेलापनि जोडिएको छ । मोवाइल वितरक संघ गण्डकीसँगको सहकार्यमा छुट्टै मोवाइल पेभेलियन राखिएको हो ।
एक्स्पोमा लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त व्याण्डहरुको सांगीतिक कार्यक्रम, लोकनृत्य, रत्यौली, विद्यालय स्तरीय एकल र सामूहिक नृत्य प्रतियोगिता, लोपोन्मुख सांस्कृतिक झाँकी र नाचहरुसहित हास्यव्यङ्ग्य कार्यक्रम हुने संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।
एक्स्पोमार्फत अर्थतन्त्र चलायमान बनाउन एवम् उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्स्पो आयोजना गरिएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले जानकारी दिए । उनले एक्स्पोलाई भव्य बनाउन कुनैपनि कसर बाँकी नराखेको बताए ।
संघका महासचिव अर्जुन पोखरेलले पोखरालाई पर्यटनको मूख्य हब र पोखरा वरपरको क्षेत्रलाई सब हब बनाउँदै समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न एक्स्पो कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
पोखराको औद्योगिक घराना लक्ष्मी समूहको सफल ब्राण्ड टाइटल स्पोन्सर रहेको एक्सपोबाट ९० लाख संकलन गरेर ६० लाख खर्च गरी ३० लाख बचत गर्ने लक्ष्य राखिएको संघका अध्यक्ष अधिकारीले जानकारी दिए । एक्स्पोको प्रवेश शुल्क ६० रुपैयाँ तोकिएको छ भने विद्यार्थीलाई ४० रुपैयाँ राखिएको छ । प्रवेश टिकटमा दैनिक पुरस्कार राखिएको छ भने अन्तिममा एक जनालाई बम्पर उपहार हिरो ड्युट स्कुटर प्रदान गरिने उनले बताए ।
Comments are closed.