नेफ्स्कुनको आयोजनामा सहकारी संस्थाहरुको स्तरीकरण अभिमुखीकरण कार्यक्रम

श्रीराम सुवेदी, पोखरा । नेपाल केन्द्रीय बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन)ले पोखरामा सहकारी संस्थाहरुको स्तरीकरण अभिमुखीकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ ।बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर, सुशासन कायम गराउने र सहकारीमा देखिने विभिन्न जोखिमलाई समाधान गर्ने उद्देश्य सहित उक्त कार्यक्रमको आयोजना गरिएको नेफ्स्कुनका वरिष्ठ अधिकृत तथा कार्यक्रमका सहजकर्ता भरतप्रसाद न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा नेफ्स्कुनका सञ्चालक तथा पोखरा फिल्ड संयोजक चण्डीप्रसाद शर्माले एक्काइसौँ शताब्दीमा पनि सहकारीको शक्ति र सामथ्र्यलाई पहिचान गराउँदै र सहकारीको मूल्य मान्यतालाई बुझाउन सकियो भने मात्र सहकारी अभियान सफल हुने धारणा राखेका थिए ।

सहकारीमा करिब ८० लाख सदस्यलाई सेवा र ८० हजारलाई रोजगारी सिर्जना गरेर देशको जिडिपीमा ५ प्रतिशत योगदान रहेको क्षेत्रले निम्न वर्गलाई समेटेर लैजान सकियो भने मात्र सहकारीको सामाजप्रतिको दायित्व पुरा हुने र धारणा परिवर्तन गर्न सकिने उनले बताए ।

कास्की बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भेषराज बरालले सहकारीमा सुशासन कायम गर्न र अहिलेको प्रतिस्पर्धात्मक बजारमा सदस्यमुखी सेवा र संस्थागत गुणस्तरमा सहकारी नै अग्रसर हुनुपर्ने बताए ।

कोअपरेटिभ क्लब कास्कीका अध्यक्ष अपिल कोइरालाले नेफ्स्कुनद्वारा सञ्चालित सहकारी संस्थाको गुणस्तर बृद्धि कार्यक्रमहरु सहकारी सञ्चालनका मेरुदण्ड बनेको बताए । उनले वित्तीय सहकारीमा जानेर वा नजानेर हुने गलत कार्य निरुत्साहित गर्नुका साथै समयसापेक्ष नीति, विधि र प्रविधिलाई जोड दिई सहकारी विकासको भूमिकामा महत्वपूर्ण योगदान दिएको बताए ।

पोखराका ३२ सहकारी संस्थाको सहभागिता भएको कार्यक्रमको अध्यक्षता पोखरा फिल्ड संयोजक चण्डीप्रसाद शर्माले गरेका थिए भने नेफ्स्कुनकी सञ्चालक कमला गिरीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन पोखरा फिल्ड कार्यालय प्रमुख यामकला सुवेदीले गरेकी थिइन् ।

lcci
You might also like

Comments are closed.