सुरेन्द्र पौडेल, काठमाडौं । नेपालमा पछिल्लो समय विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्य जोड्ने गरी केबलकार निर्माणले तिब्रता पाएको छ । यसैक्रममा लुम्बिनी प्रदेशको केन्द्र बुटवलबाट पाल्पा जोड्ने गरी केबलकारको निर्माण हुने भएको छ । निर्माण क्षेत्रमा अग्रणी पहिचान बनाएको शर्मा एण्ड कम्पनी र प्रतिष्ठित व्यावसायिक घराना आइएमई ग्रुपको अगुवाईमा केबलकार निर्माण हुन लागेको हो । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल लुम्बिनी केबलकारको अध्यक्ष छन् ।
बुटवलको गोलपार्कमा बटम स्टेसन र पाल्पाको वसन्तपुर डाँडामा टप स्टेसन रहने गरी लुम्बिनी केबलकार परियोजनाको काम भइरहेको छ । लुम्बिनी केबलकारको गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । अहिले उक्त परियोजनामा इन्जिनियरिङ अन्तर्गतको काम भइरहेको शर्मा एण्ड कम्पनीका प्रवन्ध निर्देशक एवं लुम्बिनी केबलकारका सञ्चालक रमेश शर्माले जानकारी दिए । ‘फिल्डको काम भन्दा अगाडि सम्पन्न गर्नुपर्ने प्राय सबै काम सकिएको छ,’ उनले भने, ‘अब हामी माघ १ गतेबाट फिल्डको काम तिब्र गतिमा अगाडि बढाउनेछौं ।’
बुटवलदेखि पाल्पासम्म ३ किलोमिटर दुरीमा अन्तर्राष्ट्रिय तथा आधुनिक प्रविधिसहित केबलकार सञ्चालनमा आउने शर्माले बताए । ‘संसारमै स्थापित आधुनिक प्रविधि प्रयोग गर्नेछौं,’ उनले भने ।
२०७९ चैतसम्ममा केबलकार सञ्चालनको लक्ष्य लगानीकर्ताहरुको छ । केबलकारमा २४ वटा डिम्बा रहनेछन् । केबलकारको यात्रु क्षमता दैनिक ६ हजारसम्म हुनेछ । परियोजना सम्पन्न गर्दासम्म झण्डै ४ अर्ब लगानी हुने बताइएको छ । केबलकारको बटम स्टेसनमा पार्कसहित सुविधासम्पन्न रेष्टुरेन्ट सञ्चालनमा आउनेछ भने टप स्टेसनमा पाँचतारे होटल सञ्चालनमा आउनेछ । होटलमा स्विट, सुपर डिलक्स र डिलक्स गरी १ सय ५० वटा रुम हुनेछन् । टप स्टेसनमा होटलसहित मनोरञ्जन पार्क तथा मन्दिरसमेत निर्माण हुनेछ ।
केबलकार निर्माणको समयमा ५ सय जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । परियोजना सम्पन्न भएर सञ्चालनमा आएपछि एक हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने शर्माले जानकारी दिए । बुटवल तथा पाल्पा क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा लुम्बिनी केबलकार परियोजनाले प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने बताउँछन् शर्मा । ‘बुटवल–वसन्तपुर क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्न यो परियोजनाले सहयोग पुर्याउनेछ,’ उनले भने ।
Comments are closed.