पोखरा । विवाहमा दाइजोको सट्टा बीमा पोलिसी हस्तान्तरण गरिएको छ । पोखरा ८ सिमलचौरका उमेश अछामीले छोरी रञ्जिताको विवाहमा दाइजोको सट्टा बीमा पोलिसी हस्तान्तरण गरिएको हो ।
बधु पोखरा–८ निवासी रञ्जिता अछामी हुन् भने वर पोखरा १७ बिरौटा निवासी बेनी नेपाली हुन् ।
दाइजो दिने प्रचलनलाई निरुत्साहित गर्दै छोरीको विवाहमा बीमा पोलिसी हस्तान्तरण गरेको अछामीले बताए । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सावधिक तथा आजिवन बीमा योजनाको बिमाङ्क ५० लाख रुपैयाँ बराबरको बीमा पोलिसी बर बधुलाई हस्तान्तरण गरिएको हो ।
कम्पनीका क्षेत्रीय नायव प्रमुख गणेश धमलाको प्रमुख आतिथ्यतामा न्युरोड शाखाका बजार व्यवस्थापक पद्मचन्द्र सापकोटाको विशेष आतिथ्यतामा एमडिआरटी २०२२ का एचिभर अभिकर्ता सरोज उपरकोटीले पोलिसी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना लगायतको उपस्थिति थियो ।
पछिल्लो समय आम मानिसहरुमा बिमाप्रति आकर्षण बढेको युनियन लाइफका क्षत्रीय प्रवन्धक टुल्कनाथ आचार्यले बताए ।
Comments are closed.