काठमाडौं । स्वास्थ्य बिमा कार्यक्रमको पहुँच अब ७७ वटै जिल्लामा पुगेको छ । काठमाडौं जिल्लाका २ वटा नगरपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएसँगै यसको पहुँच देशभर सबै जिल्लामा पुगेको हो । काठमाडौंको दक्षिणकालीमा पुस २६ गतेबाट र गोकर्णेश्वर नगरपालिकामा पुस ३० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम लागु भएको स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले जानकारी दिए ।
यस अगाडि गत असोज २४ गते ललितपुर जिल्लाका ३ वटा गाउँपालिकामा स्वास्थ्य बिमा कार्यक्रम लागु भएको थियो । ‘अब स्वास्थ्य बिमा कार्यक्रमको पहुँच देशभर सबै जिल्लामा पुगेको छ,’ बसौलाले भने, ‘स्वास्थ्य बिमाको क्षेत्र विस्तार अभियान अन्तिम चरणमा पुगेको छ ।’ काठमाडौंमा महानगरसहित ९ वटा स्थानीय तह र ललितपुरमा महानगरसहित ३ वटा स्थानीय तहमा मात्रै यो कार्यक्रम सुरु हुन बाँकी छ । ‘बाँकी रहेका १२ वटा स्थानीय तहमा पनि यही आर्थिक वर्षभित्र यो कार्यक्रम लागु हुन्छ,’ बसौलाले भने ।
अहिलेसम्म जिल्ला र क्षेत्र विस्तारमा जोड दिइएको र अब स्वास्थ्य बिमा कार्यक्रमको गुणस्तर सुधारमा लाग्ने बसौलाले बताए । बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी बसौलाले गत वर्ष मंसिरबाट सम्हालेका हुन् । उनी आउनुभन्दा अगाडि ५८ जिल्लाका ५ सय ५१ वटा स्थानीय तहमा मात्रै यो कार्यक्रम लागु भएको थियो । हाल ७ सय ४१ वटा स्थानीय तहमा यो कार्यक्रम लागु भइसकेको छ ।
हालसम्म २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको बसौलाले जानकारी दिए । यो वर्ष ५० प्रतिशत घर परिवारलाई स्वास्थ्य बिमामा आबद्ध गर्ने सरकारको लक्ष्य छ ।
आम नागरिकमा स्वास्थ्य सेवामा सहज पहुँच पर्याउने लक्ष्यसहित सरकारले २०७२ बाट सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेका थियो । २०७२ मा ३ जिल्ला कैलाली, बागलुङ र इलामबाट सुरु भएको यो कार्यक्रम अहिलेसम्म ७७ जिल्लामा नै सुरु भइसकेको छ । देशभर रहेका ४२८ वटा सेवा प्रदायक अस्पतालबाट बीमितहरुलाई सेवा प्रदान गरिरहेको बसौलाले जानकारी दिए । ‘गरीबीको परिचयपत्र प्राप्त २६ जिल्लाका अति गरिब झण्डै ५ लाख जना नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम आबद्ध गरेका छौं,’ उनले भने ।
Comments are closed.