चितुवाले गोठकै जनावर खान थाल्यो, स्थानीय बासिन्दा चिन्तित

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–२ ढकनियामा चितुवाले स्थानीय बासिन्दाका गोठमा बाँधेका जनावर खान थालेको छ । तीन दिनको अवधिमै चितुवाले आधा दर्जन खसी, बोका, बाख्रा मारेको छ । अहिले स्थानीय बासिन्दा चिन्तित भएका छन् ।

नजिकैको सामुदायिक वन क्षेत्रबाट गाउँ पस्ने गरेको चितुवाले दुई दिनअघि मात्रै स्थानीयवासी कौसादेवी भट्टको तीनवटा खसी र दुईवटा बाछी मारेर खाएको छ । मञ्जु चन्दको एक ब्राखा र एक खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । साँझ नपर्दै गाउँ पस्दै आएको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासी लोकराज शाहुले बताए ।

“धेरै जनाले कच्ची गोठमै बाख्रालगायतलाई बाँध्ने गरेका छन्”, उनले भने, “साँझ नपर्दै चितुवा गोठमा पसेर खसी, बाख्रा मारेर लग्ने गरेको छ । बिहान खोजबिन गर्दा बाख्रा भेटिँदैनन् । वन क्षेत्रमा खाएको अवस्थामा फेला पर्ने गरेको छ ।” यसअघि समेत चितुवाले छिमेकी गाउँ लक्ष्मीपुरका बासिन्दाका घरपालुवा कुकुरदेखि बाख्रा, बङ्गुर खाएर नोक्सानी गरेको थियो ।“

केही महिना आतङ्क मच्चाएको चितुवाले दुःख दिन छाडेको थियो”, तुलाराम चौधरीले भने, “ढकनियामा फेरि घरपालुवा जनावर खान थालेको छ । चितुवाका कारण घरपालुवा जनावर जोगाउन निकै चुनौती थपिएको छ ।”

You might also like

Comments are closed.