गलकोट । लामो समयदेखि स्तन क्यान्सरबाट पीडित बागलुङ नगरपालिका–८ का मीनाकुमारी हमाललाई पाँच लाख सात हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
जापानमा रहेका नेपालीहरुबाट र नेपालमामा समेत चलाइएको सहयोग सङ्कलन अभियानबाट जुटेको उक्त रहम क्यान्सरपीडित मीना हमालको घरमै पुगेर आज हस्तान्तरण गरिएको हो । आर्थिक रुपमा कमजोर रहेको ५५ वर्षीया मीनाको आर्थिक अभावमै उपचारमा समस्या भएपछि सहयोग सङ्कलन अभियान चलाइएको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उनको उपचार भइरहेको भए पनि आर्थिक समस्याले अहिले गाउँमै छिन् । हमालको उपचारका लागि गलकोटमा जन्मेर जापानमा कर्मथलो बनाएका नेपालीहरुबाट सङ्कलित तीन लाख ८१ हजार ८ सय ९७ रुपैयाँ र नेपालमा सङ्कलित एक लाख १८ हजार १ सय १० रुपैयाँ गरी पाँच लाख सात हजार रकम हस्तान्तरण गरिएको छ ।
गलकोट समाज जापानअन्तर्गतको मानवीय सेवा विभागअन्तर्गतका संयोजक रतनसिंह भण्डारी, जापानमै रहेका मीनराज खत्री मिलन, श्याम शर्मा, गीता सुवेदी तथा खरुवा समाजका अध्यक्ष गगन सिंह खत्रीको सक्रियता र समन्वयमा उक्त रकम सङ्कलन गरी पठाइएको थियो । नेपालमा सञ्चालन गरिएको सहयोग अभियानमा गोविन्दप्रसाद शर्मा, शर्मिला मल्ल शर्मा र उजेली खड्का मल्लले सक्रिय रुपमा सहयोग गरेका थिए । सहयोग अभियानको स्थानीय संयोजन गलकोट समाज बागलुङका सदस्य ललिता थापा र राज थापाले गरेका थिए ।
उक्त सहयोग रकम बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष जितबहादुर जिसी राजनको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरेका थिए । सहयोग हस्तान्तरणपछि बोल्दै वडाध्यक्ष जिसीले माइती गाउँलेहरुको सक्रियतामा सङ्कलन गरिएको रकमले पीडितको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । आर्थिक सहयोग पाएसँगै मीना हमाल पुनः भरतपुर क्यान्सर अस्पताल जाने तयारीमा रहेको छन् ।
Comments are closed.