कर्णाली । टाउको (हेड इन्जुरी) र हड्डी (स्पाइनल इन्जुरी) भएका सबै बिरामी यस अघि नेपालगञ्ज वा काठमाडौँ जानुपर्ने बाध्यता थियो । यतिबेला त्यो बाध्यता भने विस्तारै हट्दो छ । एक वर्षयता यी दुवै रोगको उपचार कर्णालीमा हुन थालेको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुवै खाले समस्याका सामान्य तथा जटिल खालका उपचार हुन थालेपछि यहाँका नागरिकको स्वास्थ्य, समय र पैसाको वचत भएको छ ।
वीरअस्पताल ट्रमा सेन्टरमा कार्यरत डा निलमकुमार खड्का प्रमुख कन्सल्ट्यान्टका रुपमा कर्णाली आएपछि विसं २०७८ वैशाख १५ गतेदेखि न्यूरो सर्जरी सेवा सुरु भयो । न्यूरो सर्जरी सेवाको एक वर्ष पुगेपछि प्रदेश अस्पतालले हालै पहिलो वार्षिकोत्सव मनाएको छ ।
उक्त कार्यक्रममा डा निर्मल रसाइलीले कर्णालीमा महिला तथा पुरुष गरी ५४४ ले बहिरङ्ग सेवा लिएको बताउनुभयो । जसमा महिला २९२ र पुरुष २५२ थिए । वार्ड केसमा महिला १६१ र पुरुष ७४ गरी २३५ ले सेवा लिएको उनले बताए । यसमा सबैभन्दा बढी (३६.५५) २१ देखि ४० वर्ष उमेर समूह लाभान्वित भएका छन् ।
वरिष्ठ नर्सिङ अधिकृत प्रभा रावलले उमेर समूहका आधारमा एक वर्षमुनिका ६, १५ वर्षमुनिका १५, ३० वर्षसम्मका १२, ४५ वर्षसम्मका १६, ६० वर्षसम्मका १७, ७५ वर्षसम्मका १० र त्यसभन्दा माथि तीन जनाले टाउको तथा हड्डीको उपचार लिएको बताइन् । ठूला खालका समस्यामा पनि कर्णालीमा समाधान हुन थालेपछि अहिले कर्णाली प्रदेश अस्पताल बिरामीको विश्वास र आकर्षणको केन्द्र बन्दै गएको उनको भनाइ थियो ।
डा खड्काले सबै क्षेत्रको सहयोगबाट न्यूरो सर्जरी विभागले यो सफलता पाएको बताए । उनले ध्यान, ज्ञान र विज्ञानको संयोजनबाट मानिसलाई स्वस्थ जीवन जीउन सहयोग पुग्ने जनाए । उनले मेडिकल अधिृकत, रेसिडेन्ट र कन्सल्ट्यान्टको जनशक्ति बढाउन मन्त्रालयसहित अस्पताल प्रशासनलाई अनुरोध गरे ।
“हेड र स्पाइनल इन्जुरीको उपचार सेवा सुरु भएपछि कर्णाली प्रदेश अस्पतालबाट यससँग सम्बन्धित जटिल रोगका बिरामीले चैत १ गतेबाट रु एक लाख पाउछन्”, उनले भने, “यो उपलब्धि अस्पताल परिवारको सहयोगबाट भएको हो ।” डा खड्काले दैलेखमा हेड र स्पाइनल इन्जुरीको सचेतना जगाउने तथा जुम्लामा घुम्ती सेवा सञ्चालन गरिएको बताए ।
कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रलायका सचिव कृष्णप्रसाद काप्रीले न्यूरो सर्जन डा खड्काले अध्यात्म, योग ध्यानसँग जोडिएको उपचार सेवा थालनी गरेर कर्णालीको स्वास्थ्यमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे । उनले एक वर्षमा प्रदेश अस्पतालको उपचार सेवामा गुणस्तर वृद्धि हुँदै गएको जनाए ।
“कर्णाली प्रदेश सरकारको एकमात्र अस्पताल प्रदेश अस्पताललाई उपकरण र जनशक्ति सम्पन्न बनाउनु प्रदेश सरकारको जिम्मेवारी हो”, सचिव काप्रीले भने, “प्रदेश सरकारले अब यहाँ एमआरई सेवा थप्न प्रयास गरिरहेको छ ।”
कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा डा डम्बर खड्काले कर्णालीमा थप दक्ष जनशक्ति ल्याउन पहल गर्ने बताए । उनले भने, “हामीले मिर्गौला प्रत्यारोपण सेवाका लागि सम्झौता गरिसकेका छौँ । अब नेफ्रोलोजी सेवाको लागि पहल थाल्छौँ र कर्णालीवासीलाई राम्रो उपचार सेवा प्रदान गर्छौं ।”
Comments are closed.