अर्थतन्त्रका संरचनागत संरचनाले पुँजीगत खर्च बढेन : डा रिजाल

 

काठमाडौं । नेपाली कांग्रेसका सांसद् डा मिनेन्द्र रिजालले पुँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले पुँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद् र अर्थमन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्ने बताए।

शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवद्र्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताए।

उनले वर्तमान सरकारका कारण मात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गरे ।

डा रिजालले विश्वव्यापीरूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फितिमा परेको तथ्य पेश गरे। बजेट कार्यान्वयन क्षमता कमजोर रहेको भन्दै उनले स्रोत नभएको आयोजना कम्प्युटरमा गरिएको शिलान्यास, रेल तथा पानीजहाज, भ्यूटावरजस्ता विषय ल्याएर गलत संस्कारको अभ्यास गरिएकाले पनि समस्या देखिएको स्पष्ट पारे ।

आफ्नो समस्या अर्काको टाउकामा हालेर उम्कने प्रवृत्ति छाड्न उनले आग्रह गरे । डा रिजालले सरसर्ती हेर्दा बजेटका प्राथमिकता राम्रो रहेको भन्दै सत्ता र प्रतिपक्ष दुवैले अर्थतन्त्रका विषयमा गम्भीर हुनुपर्नेमा जोड दिए । रासस

You might also like
Ram Tulasi Palpa

Comments are closed.