‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न

काठमाडौं । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा यस शनिवार ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गर्ने हुसांस्कृतिक उत्सव ‘नमस्ते ईद २०२२’ भव्यताका साथ सम्पन्न भएको छ ।

ओपन स्पेस नेटवर्कले वार्षिक रुपमा आयोजना गर्ने गरिँदै आएको उत्सवको यो चौथो संस्करण हो । ‘नमस्ते ईद’ नेपालमा मनाइने एक मात्र र सबैभन्दा ठूलो बहुसांस्कृतिक उत्सव हो जसले रमजान उपवास महिनाको अन्त्य भएको र ईद-उल-फित्र उत्सवको जनाउ दिन्छ । ईद मूलतः एक महिनाको व्रत पूरा गरेपछि मनाइने पर्व हो ।

‘नमस्ते ईद’ को मूल उद्देश्य बहुसांस्कृतिक कार्यक्रमको रुपमा ईद मनाउने नेपालीहरुको सकारात्मक मनोबल दर्शाउनु हो । कार्यक्रमले सांस्कृतिक सुन्दरता, विविधता र एकता झल्काएको थियो।उत्सवको मुख्य आकर्षणको रुपमा नुजहत काजीद्वारा सञ्चालित ‘मोडेस्टली मोडर्न फेसन शो’ रहेको थियो ।

साथै, नेपालस्थित अमेरिकी दूतावासकी सांस्कृतिक मामिला अधिकृत साराह जास्मिन नाइट, अभिनेत्री ऋचा शर्मा र मिस नेपाल २०१० तथा मिडिया पर्सनालिटी सदिक्षा श्रेष्ठ जस्ता चर्चित व्यक्तित्वहरू मोडलहरुसँगै र्‍याम्पमा देखिएका थिए ।

jutta mela

उत्सवमा ‘प्रोजेक्ट सारंगी’ का संस्थापक किरण नेपालको विशेष सांगीतिक प्रस्तुति पनि रहेको थियो ।कार्यक्रममा हलाल आउटलेट, हेन्ना आटिस्ट देखि पर्फ्युम र पहिरन लगायतका स्टलहरू थिए ।

कार्यक्रममा किड्स जोन, खेलकुद, सुफी तथा कवाली र नृत्य प्रस्तुतिहरु समेत रहेका थिए ।कायक्रममा काठमाडौं उपत्यकाका मेयर उम्मेदवारद्वय बालेन शाह र केशव स्थापित समेत यस उत्सवमा सहभागी भएका थिए ।

साथै, मिथिलेश झा, युवराज शर्मा, रोनाली अमात्य, सञ्जय गुप्ता, दीपाञ्जली लामा शाह लगायतका समाजमा विभिन्न पेशा र क्षेत्रबाट योगदान पुर्योएका चर्चित व्यक्तित्वहरु पनि उत्सवमा सहभागी रहेका थिए ।

सफलतापूर्वक उत्सव सम्पन्न भएपछि कार्यक्रमकी संस्थापक तथा निर्देशक फैजा परवीन भन्छन्, “सबै पृष्ठभूमिका मानिसहरूलाई सहभागी गराउने उद्देश्यले खुला बहुसांस्कृतिक कार्यक्रमका रुपमा सन् २०१७ देखि हामीले नमस्ते ईद आयोजना गर्न थालेका हौँ । यसको उद्देश्य अन्तरविश्वास, समझदारी, मित्रता र बहुसांस्कृतिक प्रवर्द्धन गर्ने पनि रहेको छ । नेपालका विभिन्न समुदायबीच विविधतामा एकता र मेलमिलाप झल्काउनु र सांस्कृतिक उत्सवको माध्यमबाट स्थानीय समुदायलाई मजबुत र एकतावद्ध बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो ।”

You might also like

Comments are closed.