काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई आज मन्त्रालयमा भेटि विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाउदै पेट्रोलियम पदार्थ र ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका हुन् ।
मन्त्री बडूले अहिले नै मूल्य वृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्य वृद्धिका सम्बन्धमा आज छलफल गरिने बताएको वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए। विद्यार्थी संगठनले मन्त्रालय र संयुक्त विद्यार्थी संगगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् ।
त्यस्तै विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको अत्याधिक करबारे पुनर्विचार गर्नुपर्ने, वैकल्पिक उर्जाको खोज अनुसन्धान र प्रयोगका लागि कार्यदल गठन गरी काम गर्नुपर्ने, पेट्रोलियम पदार्थमा भएको एकाधिकार खारेज गरी खुला प्रतिस्पर्धाबाट आपूर्ति गर्न माग गरेका छन् ।
पेट्रोलियम पदार्थको कच्चा तेल प्रशोधन केन्द्र स्थापना गर्न कुनै पनि बहानामा सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगमलाई निजिकरण गर्ने विषयमा गम्भीरतापूर्वक सोच्नसमेत उनिहरुले आग्रह गरेका छन् ।
Comments are closed.