निर्माणमा एएसी ब्लक ढुक्क भएर प्रयोग गर्न विज्ञहरुको सुझाव

काठमाडौं । एएसी ब्रिक्स म्यानुफ्याक्चरर्स एसोसिएसन (एबिएमए)को आयोजनामा ‘फस्ट एएसी कन्फरेन्स नेपालः विल्डिङ सस्टेनेबल फ्युचर’ कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित दुसित प्रिन्सेस होटलमा शुक्रबार कार्यक्रम भएको हो ।

कार्यक्रममा देश भरका वरिष्ठ आर्किटेक्ट, इन्जिनियर, निर्माण व्यावसायीहरुलाई एएसी ब्लकको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै मुख्य वक्ता भारतीय एएसी विज्ञ तथा कंक्रिट टेक्नोलोजिस्ट मुकुन्द जोशीले विश्व बजारमा एएसीको प्रयोग बढिरहेको बताए । नेपालमा पनि यो ब्लकको भविष्य राम्रो रहेको उनको भनाइ छ । नेपाल, भारत जस्ता भूकम्पीय जोखिम रहेको स्थानमा एएसी ब्लक विश्वसनीय निर्माण सामग्री बनेको उनले बताए ।

परम्परागत इट्टा तथा ब्लकको उत्तम विकल्प एएसी रहेको जोशीको भनाइ छ । एएसी क्लबको ताप तथा ध्वनि प्रतिरोधक क्षमताको कारणले निर्माण पस्चात् समेत इनर्जी बचत हुने उनले बताए । सुरुका दिनमा देखिएका केही संकोच एएसी गुणस्तरले नभई यसको प्रयोग गर्ने विधिमा समस्या भएकाले केही समस्या आएपनि यस्ता समस्या समाधान भइसकेकाले ढुक्कसँग निर्माणमा एएसी ब्लक प्रयोग गर्न उनले सुझाव दिए । भारतको २० वर्ष देखिको निर्माण प्रक्रियामा पनि अत्याधिक एएसी ब्लक प्रयोग भएको उनले उदाहरण प्रस्तुत गरे ।

अन्तरक्रियामा बोल्दै शहरी विकास सचिव ई. गोपाल प्रसाद सिग्देलले सरकारको तर्फबाट एएसी ब्लकलाई प्रयोग गर्न आवश्यक नीति तयार भई अनुमोदन भएको र नेपाल गुणस्तर प्रमाणीकरणको मानक तयार भएकाले सम्पूर्ण उद्योगीहरुलाई उक्त मानक अनुसार ब्लक उत्पादन गरि उचित मूल्यमा बिक्री वितरण गर्न सुझाव दिए । उद्योगलाई थप व्यावसायिक बनाउन नेपाल सरकार तत्पर रहेको पनि उनले बताए।

वरिष्ठ आर्किटेक्ट अरुणदेव पन्तले एएसी ब्लक आफूले पहिला नै प्रयोग गरिसकेको र सम्मेलन पछि आफू थप ढुक्क भइ प्रयोग गर्न र प्रयोग गर्नका लागि सबैलाई सुझाव दिन सक्ने बताए ।

वरिष्ठ सिभिल इन्जिनियर प्रा.डा. पुरुसोत्तम डंगोलले एएसी ब्लक भूकम्पीय जोमिख न्युनीकरण गर्न र अग्ला तथा ठुला भवन निर्माण गर्दा स्ट्रक्चरल (कस्ट) लागत घटाउन उत्तम विकल्प भएकाले ढुक्क भएर प्रयोग गर्न सुझाव दिए ।

उत्पादकको तर्फबाट अन्तरक्रिया सहभागी ई. वीरेन्द्रराज पाण्डेले एएसी ब्लक उत्पादन प्रक्रिया अन्तराष्ट्रियस्तरको रहेको र मूल्यसमेत उचित भएको बताए ।

एसोसिएसनका अध्यक्ष निकोलस पाण्डेले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिदै कार्यक्रमले एएसी क्लब उत्पादकहरुलाई थप आत्मविश्वास बढेको बताए । उपभोक्ताको हित हुने गरी नेपालमा एएसी ब्लक उत्पादन हुने उनले बताए । सबैबाट साथ सहयोगको अपेक्षा राख्दै उनले नेपालमा ९ वटा उद्योगमा ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी भएको र ५ हजारले रोजगारी पाइरहेको जानकारी दिए ।

कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले नेपाल सरकारले पारित गरेको एएसी ब्लक सम्वन्धित नीतिको अनावरण गरेका थिए ।

You might also like

Comments are closed.