खोटाङ । साकेला गाउँपालिकाको सामाजिक सुरक्षा भत्तामा अनियमितता भएको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।
मृत्यु भइसकेका, बसाइँ सरिसकेका तथा हुँदै नभएका व्यक्तिको नाममा समेत सामाजिक सुरक्षाभत्ता निकासा गरेर कर्मचारीले अनियमितता गरेको पाइएपछि गाउँपालिकाले दिएको उजुरीका आधारमा आयोगले छानबिन सुरु गरेको हो ।
आयोगको टोलीले साकेला गाउँपालिका–४ मात्तिम र वडा नं ५ मानेभञ्ज्याङबाट छानबिनको प्रक्रिया थालेको गाउँपालिकाका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए । “आयोगले गाउँपालिकाबाट लेखेर पठाइएको प्रतिवेदनका आधारमा देखिएको नामावलीमाथि थप छानबिन थालेको छ”, उनले भने, “भूगोलमा मान्छे छन् वा छैनन्, भए कुन प्रकृतिको हो ? त्यसको यथार्थ विवरण सङ्कलन गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउन आख्तियारको टोली आएको हो ।”
एकै आर्थिक वर्ष ८७ लाख रूपैयाँभन्दा बढी सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि साकेला गाउँपालिका आफैँले कारबाहीका लागि विसं २०७७ पुस १२ गते सोसँग सम्बन्धित कागजातको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरी पठाएको थियो । आर्थिक वर्ष २०७६/०७७ भित्र मात्रै पाँच वडामा रु ८७ लाख ४१ हजार ६ सय रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो ।
सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय राष्ट्र्यि समाचार समिति (रासस) लगायत विभिन्न सञ्चारमाध्यमबाट बाहिरिएपछि गाउँपालिका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा गठित छानबिन समितिले एकै आर्थिक वर्षमा लाखौँ रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेको थिइन् । सामाजिक सुरक्षाभत्ता दुरुपयोग भएको विषयमा विसं २०७७ असोज १४ गते गठित समितिले विसं २०७७ मङ्सिर २३ गते अन्तिम छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।
गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीको एउटै नाम, एउटै नागरिकता नम्बर, एउटै ठेगाना र एउटै जन्ममिति उल्लेख गरेर तीनजनासम्म नक्कली लाभग्राही तयार पारि रकम अनियमितता गरेको पाइएको छ । एकै व्यक्तिका नाममा विधवा र एकल महिलाको सामाजिक सुरक्षा भत्ता बाँडिएको तथ्य पनि फेला परेको छ । सामाजिक सुरक्षाभत्तामा अनियमितता भएको प्रतिवेदन सार्वजनिक भएपछि कर्मचारीसँगै वडा तथा गाउँपालिकाका जनप्रतिनिधिसमेत नैतिक प्रश्नको कठघरामा परेका छन् । छानबिनका क्रममा कतिपय मृतक वा बसाइँ सरिसकेका व्यक्तिका आफन्तले नै निरन्तर सामाजिक सुरक्षाभत्ता लिइरहेको पनि पाइएको बताइएको छ ।
सामाजिक सुरक्षाभत्ता शीर्षकको लाखौँ रकम चुहावट भइरहेको प्रतिवेदन सार्वजनिक भएलगत्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिकदेखि ‘सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५’ बमोजिम नेपाल एसबिआई बैङ्क साकेला शाखामार्फत सामाजिक सुरक्षाभत्ता वितरणको व्यवस्था मिलाइसकेको छ । सामाजिक सुरक्षाभत्तामा भइरहेका अनियमितता नियन्त्रणका लागि बैङ्किङ प्रणाली अपनाइएपछि आर्थिक वर्ष २०७७/७८ को दोस्रो र तेस्रो चौमासिकमा रु ४६ लाख ७४ हजार ७६६ रकम बेरुजु खातामा फिर्ता गएको छ ।
गाउँपालिका र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागअन्तर्गत सेवा इकाइको सक्रियतामा गलत लाभग्राहीका नाममा भुक्तानी हुँदै आएको रकम जोगिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाप्रमुख डिल्लीमान राईले बताए । “सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको विषय बाहिरिएपछि गाउँपालिकाका उपप्रमुख सरिता खड्काको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो,” उनले भने, “छानबिन समितिले आर्थिक वर्ष २०७६/७७ मात्रै रु ८७ लाख ४१ हजार ६०० रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।”
दस स्थानीय तहमध्ये जिल्लाकै सबैभन्दा सानो पाँचवटा मात्रै वडा रहेको साकेला गाउँपालिकामा अहिले जम्मा एक हजार २०५ जना मात्र लाभग्राही कायम रहेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ । कर्मचारीमार्फत वितरण गर्दा व्यापक अनियमितता भएको सामाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक करोड ११ लाख भुक्तानी भएको गाउँपालिकाले जनाएको छ ।
जिल्लाका अन्य स्थानीय तहले पनि बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण कार्य थालेका छन् तर अन्य स्थानीय तहले भने सामाजिक सुरक्षाभत्ता वितरणमा भइरहेको चुहावटबारे बाहिर ल्याएका छैनन् ।
Comments are closed.