अन्धकारमुक्ति साकोस लुम्बिनी प्रदेशमै उत्कृष्ट

काठमाडौं । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था यस वर्ष लुम्बिनी प्रदेशमै उत्कृष्ट भएको छ ।नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले आफ्नो ३५औँ स्थापना दिवसका अवसरमा लुम्बिनी प्रदेशका बचत तथा ऋण सहकारीमध्ये अन्धकारमुक्तिलाई उत्कृष्ट पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

नेफ्स्कुनले असार १५ देखि साउन १५ गतेसम्म पुस्कारका लागि आवेदन आह्वान गरेको थियो । जसअनुसार लुम्बिनी प्रदेशबाट अन्धकारमुक्ति साकोस छनोट भएको छ । पुरस्कार भने नेफ्स्कुनले आगामी साधारणसभामा प्रदान गर्ने जनाएको छ ।

यस सहकारी गत वर्ष पनि लघुवित्ततर्फ उत्कृष्ट भएको थियो । विसं २०५५ मा खेतको आलीबाट सुरु भएको अन्धकारमुक्तिले हाल पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ ।

१० हजारभन्दा बढी शेयर सदस्य आवद्ध रहेको यस सहकारीको कुल पूँजी एक अर्ब ३२ करोड रहेको छ । बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

रामपुर नगरपालिका-७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको यसले हाल रामपुर-५ बेझाँड बजार, रामपुर-९ को जब्गादी, रामपुर-१० को रामटार, निस्दी-५ को ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका-५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दीपेन्द्र पौडेलले जानकारी दिए ।

यस सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको र लघुवित्तमार्फत धेरैले व्यापार, व्यवसाय गरेर राम्रो प्रगति गर्न सफल भएको संस्थाका अध्यक्ष सागरप्रसाद देवकोटा बताउछन् ।

You might also like

Comments are closed.