गल्याङद्वारा किसानलाई १९ लाख रुपैयाँ अनुदान वितरण

स्याङ्जा । गल्याङ नगरपालिकाले किसानलाई अनुदान रकम वितरण गरेको छ । नगरपालिका २ नम्बर वडाको बटुवाका किसानलाई रु १९ लाख ५७५ अनुदानस्वरुप वितरण गरेको नगरपालिकाले जनाएको ।

नगरपालिकाले किसानलाई दूधमा प्रति लिटर १५ अनुदान दिएको छ भने गाई पकेट क्षेत्र लागत साझेदारी कार्यक्रम अन्तर्गत पनि अनुदान वितरण गरेको छ । ६६ जना किसानलाई उत्पादनको आधारमा प्रतिलिटर रु १५ का दरले ११ लाख ८६ हजार ५७५ वितरण गरिएको छ भने गाई पकेट लागत साझेदारी कार्यक्रम अन्तर्गत १७ जना किसानलाई जनही ७२ हजारका दरले सात लाख १४ हजार वितरण गरिएको छ ।

नगरप्रमुख भुपराज अधिकारीले नगरभित्रका किसान आत्मनिर्भर बन्दै गएको बताए । नगप्रमुख अधिकारीले भने, “नगरपालिकाले सञ्चालन गरेको कृषिमा अनुदान कार्यक्रमले किसानलाई कृषि पेशाप्रति आकर्षित गरेको छ ।” यसबाट किसान आत्मनिर्भर बन्दै गएको उनको भनाइ छ ।

नगरप्रमुख अधिकारीले अनुदानको व्यवस्थाले किसान धेरै उत्साहित भएकोले पूर्ण रुपमा आत्मनिर्भर नबन्दासम्म अनुदानको कार्यक्रम यथावत् राख्ने समेत बताए ।

कृषिको बजारिकरण हुन सकेमा किसानलाई अझै उत्साह थपिने भन्दै नगरप्रमुख अधिकारीले गल्याङमा उत्पादन भएको कृषि उपजको बिक्रीको ग्यारेण्टी नगरपालिकाले लिएको जानकारी दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले अनुदानको व्यवस्थाको सही सदुपयोग गरेर आफ्नो व्यवसायलाई प्रवद्धन गर्ने कार्यमा किसान उत्साहित भएर लागेकोले अनुदान कार्यक्रम प्रभावकारी बन्दै गएको बताए ।

किसान टीकाकुमारी रानाले दूधमा सबैभन्दा बढी अनुदान प्राप्त गरेको नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले जानकारी दिए । अर्यालका अनुसार रानाले प्रतिलिटर रु १५ अनुदानबापत ६ महिनामा दुई लाख ४० हजार ८५९ रुपैयाँ पाएका छन् । यसैगरी रानाले गाई पकेटलागत साझेदारी कार्यक्रम अन्तर्गत दुई वटा गाई खरिद गरेबापत ४२ हजार अनुदान समेत प्राप्त गरेका छन् । नगरपालिकाको यो कार्यक्रमले कृषिमा लाग्ने किसानलाई थप उत्साहित बनाउनुका साथै बढ्दै गएको बेरोजगारीको समस्या समाधानमा सहयोग पुुगेको छ ।

You might also like

Comments are closed.