काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)का पदाधिकारीबीच ‘विस्तारित कर्जा सुविधा’ कार्यक्रमको तयारीलगायत अर्थतन्त्रका अन्य विविध विषयमा आइतबार छलफल भएको छ । श्रव्य दृश्यका माध्यमबाट भएको छलफलमा अर्थमन्त्रीले प्रस्तावित कर्जा सुविधा कार्यक्रमको तयारीका लागि नेपाल र आइएमएफका पदाधिकारीबाट संयुक्त रुपमा भइरहेको कामप्रति खुशी व्यक्त गरे ।
कोभिड–१९ को महामारीको कठिन परिस्थितिमा स्रोत व्यवस्थापनमा चाप परेको अवस्थामा गत मार्चमा आइएमएफले द्रुत कर्जा सुविधामार्फत नेपाललाई गरेको सहयोग र आपद नियन्त्रण तथा कोषअन्तर्गत ऋणको सावा तथा ब्याज सहुलियत प्रदान गरेकोमा उनले आभार प्रकट गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री र आइएमएफका पदाधिकारीबीच कोभिड–१९ ले बढी प्रभाव पारेका क्षेत्र र सोलगायत समग्र आर्थिक पुनरुत्थानको गति थप तीव्र बनाउनेलगायत विषयमा छलफल भएको थियो । सो क्रममा यस आर्थिक वर्षको बजेटले मुख्य रुपमा राहत र आर्थिक पुनरुत्थानलाई प्राथमिकता दिएको र कोभिडको रोकथाम, नियन्त्रण तथा उपचारलगायत आर्थिक पुनरुत्थानका लागि बढ्दो सार्वजनिक खर्च व्यवस्थापन गर्न प्रस्तावित कार्यक्रमले सघाउ पु¥याउने धारणा राखे ।
आइएमएफको सक्रियता तथा नेतृत्वमा जि–२० का सदस्य मुलुकबाट प्राप्त भएको ऋणको सावा तथा ब्याज स्थगनसम्बन्धी सुविधाका लागि अर्थमन्त्रीले धन्यवाद दिदै न्यून आय भएका मुलुकलाई थप कुनै अतिरिक्त भारवेगर सापेक्षिक रुपमा लामो समयका लागि यस्तो सुविधा उपलब्ध गराउनुपर्ने उनले बताए ।
छलफलमा आइएमएफका पदाधिकारीले कर्जा कार्यक्रमको तयारीको पछिल्लो प्रगतिबारे जानकारी गराउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा आइएमएफको निरन्तर सहयोग हुने विश्वास दिलाए । यस्तै आर्थिक पुनरुत्थानको लागि आइएमएफले नेपालसँग थप सहकार्य गर्दै जानेसमेत बताए ।







Comments are closed.