‘असार १५ दही चिउरा खाने दिन र धान दिवस’

प्रल्हाद दाहाल

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रूपमा लिइन्छ । यो दिन परापूर्वकालदेखि नै दही–चिउरा खाने र मानो रोपेर मुरी फलाउने दिनको सुरूवाती दिनको रुपमा लिइन्छ । यस दिनलाई विगत २० वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । यस वर्ष ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २०८१ को राष्ट्रिय धान दिवस मनाउने सरकारले निर्णय गरेको छ ।

किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभर असार १५ गते राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । त्यसैले हरेक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी धान दिवस मनाइन्छ ।

सन् २००४ मा संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । त्यसैगरी नेपालमा पनि कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको हो ।

सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा हरेक वर्ष धानखेती हुँदै आएको छ । सरकारले असार १५ लाई धान दिवसका रूपमा मनाउँदै आएपनि आधुनिक प्रविधि र सीप आमकिसान माझ अझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएरपनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ ।

नेपाली संस्कृति अनुसार असार १५ मा दही चिउरा खाने प्रचलन छ । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा लिने गरेको पाइन्छ । वर्षायाममा हिलाम्य भएको शरीरमा दही खादा उर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

यो दिन अधिकांश नेपालीले दही चिउरा खान्छन् । दहीको महत्व धेरै छ । यो दिन अरू दिनको तुलनामा धेरै दही खपत हुन्छ र यसका लागि डेरी व्यवसायीहरूले एक हप्ता अघिबाट दहीको जोहो गरेर राख्छन् । दही नपाइएला भनेर ग्राहकहरू अघिल्लो दिनदेखि नै खरिद गरी राख्छन् । यस दिन बेलुकापख डेरी पसलहरूमा दही अपुग हुन्छ ।

यस दिन मानिसहरू दही र चिउरामा केरा र आँप पनि मिसाएर खान्छन् । गाउँघरमा पनि सबैले घर–घरमा आफैँले दही जमाएर खान्छन् । शहरी क्षेत्रमा कसै–कसैले आफैं जमाएपनि धेरैजसोले भने किनेरै खाने चलन छ । आजभोली यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर पनि यसको महत्व बढाइएको छ । पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइ महोत्सव भनेर विगत १७ वर्षदेखि माउँदै आइएको छ । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गरेको छ ।

आजभोली विद्यालयका विद्याथीहरूलाई पनि दहि चिउरा खुवाउने र रोपाईमा सहभागी गराउने गरिएको छ । यो राम्रो पक्ष हो । पहिले–पहिले बाजा बजाएर नाचगान गर्दै रोपाई गर्ने चलन थियो । त्यस्तो चलनलाई बेठी लगाउने भनिन्थ्यो । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर आजभोलि यो चलन हट्दै गएको छ । अब यस्ता चलनले निरन्तरता नपाउने हो भने हाम्रो परम्परा लोप हुँदै जान्छ । अब हामीले यसलाई देखावटी मात्र नभई उपलब्धिमुलक बनाउन सक्नुपर्छ । यसले हाम्रो कृषि प्रधान देशमा धेरै ठूलो महत्व राख्छ ।

हामीले कति पटक धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के भयो भन्ने कुराले ठूलो महत्व राख्छ । हाम्रो देशमा सबैभन्दा धेरै उत्पादन हुने भनेकै धान हो । तर अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्र भएर पनि धान आयात गर्दैछौँ । यो दुःखद कुरा हो । अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्छ । दैनिक सयौँ युवा विदेशीने अनि हामी देखावटी यस्ता कार्यक्रम गरिरहनुमा कुनै अर्थ हुदैन । अब विदेशिएका युवाहरुलाई स्वदेशमा कसरी आकर्षित गर्ने र विदेश जान कसरी रोक्ने भन्ने कुरातिर हामी लाग्न आवश्यक छ ।

कृषि क्षेत्रको महत्वपूर्ण क्षेत्र मध्ये दुग्ध क्षेत्र एक महत्वपूर्ण क्षेत्र हो । अहिले हामी करिब ८० प्रतिशत माग स्वदेशी उत्पादनले धान्न सक्ने भएका छौँ । यस्तो अवस्थामा हामी अब कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्नेतिर लाग्न आवश्यक भइसक्यो । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी जुन नाम छ त्यो नामलाई बचाउन लागौ र कृषि क्षेत्रको विकास नभई अरू कुनै पनि क्षेत्रको विकासले देशलाई समृद्ध बनाउन सक्दैन भन्ने मुख्य कुरा बुझी अगाडि बढौ । त्यसैले हामी जसरी भएपनि कृषिका उपजहरु आयात रोकी अब निर्याततर्फ लाग्न ढिला भइसकेको छ । हामी सबैलाई यस वर्षको असार १५ गतेले यही शक्ति प्रदान गरोस् । सबैमा हार्दिक शुभकामना ।

यस्ता छन् दही सेवनका फाइदा :
– दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्त्वका कारण स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ ।
– दही मुटुको समस्या र उच्च रक्तचापका बिरामीलाई फाइदाजनक मानिन्छ ।
– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।
– अरुचिको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।
– आन्द्रा तथा पेट सम्बन्धी रोगहरूमा दहीको नियमित सेवनले फाइदा पु¥याउँछ ।
– दहीको सेवनले उच्च रक्तचाप नियन्त्रणमा सघाउ पु¥याउँछ ।
– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।
– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।
– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पु¥याउँछ ।
– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।
– अनिन्द्राका समस्या भएकाहरूले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।
– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पु¥याउँछ ।

(लेखक नेपाल डेरी एसोसिएसनका अध्यक्ष हुन्)

 

You might also like

Comments are closed.