नेपालको समृद्धिको मेरुदण्ड युवाशक्ति हो । देश निर्माणमा युवाको महत्वपूर्ण भूमिका रहन्छ । युवा नेतृत्वले हरेक ठाउँमा परिवर्तनको लहर ल्याउँछ । जहाँ युवाको नेतृत्व छ त्यहाँ विकासका गतिविधि सक्रिय ढंगले अगाडि बढेको हामीले देखेका छौँ । तर, विडम्बना के छ भने, आज पनि लाखौँ युवा देश छाडेर विदेशी भूमिमा रोजगारीको खोजीमा जान बाध्य छन् । स्वदेशमा रोजागारको सम्भावना नदेखेपछि विदेशका खाडी मुलुकमा रगत र पसिना बगाउन बाध्य छन् ।
युवा जनशक्ति विदेश पलायनले गाउँ नै रित्तिदै गएका छन् । अर्काको देशमा आफ्नो जन्मभूमि, परिवार, आफन्त छाडेर बाध्यताले जानुपर्ने अवस्था छ । स्वदेशमै बसेर रोजगार गरौं भने गरिखाने ठाउँ छैन । हरेक क्षेत्रमा राजनैतिक पहुँच र नातावादका कारण सक्षम युवाले आफ्नो देशमा रोजीरोटी गर्ने अवसर नपाएको अवस्था छ । पहुँचको भरमा विभिन्न संघ संस्थामा आफ्ना व्यक्ति भर्ति गर्ने परिपाटीले सक्षम हुँदाहुँदै पनि युवा विदेशिनुको अर्को विकल्प छैन । सरकारले युवालाई स्वदेशमै बस्ने वातावरण मिलाएका छौँ, रोजगारको प्रशस्त सम्भावना छ भन्छ तर यहाँ बसेर गर्न सक्ने परिस्थिति छैन ।
यदि हामी साँच्चिकै आत्मनिर्भर राष्ट्रको सपना देखिरहेका छौं भने अब युवालाई अवसर दिनुको विकल्प छैन । यो समयको आवश्यकता हो । युवाको सम्भावना, जोँश र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्ने हो भने देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ । त्यसका लागि तीनै तहका सरकार र विशेषगरी सबै पालिकाहरूको भूमिका निर्णायक हुन्छ । समय आएको छ– पालिकाहरूले युवालाई केन्द्रमा राखेर नीतिगत निर्णय लिउन् । क्षमता प्रदर्शन गरेर युवाले रोजगार गर्ने स्थान पाउनुपर्छ । नेताको चाकडी र आडको भरमा विभिन्न ठाउँमा नियुक्त गरेर रोजगार दिने परिपाटीको आज नै अन्त्य हुनुपर्दछ । सबै क्षेत्रमा समान ढंगले हेरिनुपर्दछ । यसो गरियो भने युवा जनशक्ति स्वदेशमा नै बस्ने वातावरण बन्नेछ ।
स्थानीय तहले विभिन्न रणनीति बनाएर काम गर्न सक्दछ । जस्तै : महानगरपालिकाले कम्तीमा १ अर्ब रुपैयाँको युवा उद्यमशीलता कर्जा कोष स्थापना गरोस्, उपमहानगरपालिकाले ५० करोड, नगरपालिकाले १० करोड र गाउँपालिकाले ४ करोड रुपैयाँ कोषमा छुट्याएर काम गर्नुपर्ने हुन्छ । यस कोषमार्फत २० देखि ३० वर्ष उमेर समूहका इच्छुक, सक्षम र योजनाबद्ध युवालाई बिनाधितो कर्जा उपलब्ध गराइनुपर्छ । कर्जासँगै व्यावसायिक सीप तालिम, मार्केट एक्सेस र परामर्शको पनि व्यवस्था गरिएमा यो कार्यक्रमले दिगो परिणाम दिन सक्छ । देशभित्रै रोजगारी सिर्जना, वैदेशिक पलायनमा युवाको कमी आउनु, उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रको जग बलियो हुने जस्ता फाइदा पुग्नेछ ।
धेरैले सोध्न सक्छन्, ‘स्रोत कहाँबाट ल्याउने ?’ तर यो प्रश्नभन्दा पहिला इच्छाशक्तिको परीक्षण हुन जरुरी छ । स्रोतको अभाव बाहाना मात्रै हो, राज्यले चाह्यो भने स्रोत व्यवस्थापन सम्भव छ । हाम्रा युवाले साहस, श्रम र सिर्जनशीलता बोकेका छन् । उनीहरूलाई साथ र सहयोग चाहिएको हो । आज निर्णयको घडी हो—युवालाई अवसर देऊ, देश अघि बढ्छ । युवाको हातमा भविष्य देख्न सक्ने नेतृत्व र नीतिको खाँचो अब टार्न मिल्दैन । यदि युवालाई साथ दिन सकिन्छ भने आत्मनिर्भर नेपाल सम्भव छ । देश परिवर्तन र विकासका लागि युवा जनशक्ति आजको आवश्यकता हो । हरेक क्षेत्रमा जुझारु युवालाई नेतृत्व गर्न अवसर दिनुपर्दछ ।
(लेखक अटोवेज ग्रुपका अध्यक्ष हुन् ।)
Comments are closed.