दक्ष अपरेटर बन्न तालिम र हेल्पर अनुभव अपरिहार्य

कुन्दन शर्मा

नेपालमा निर्माण तथा पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको अवस्थामा दक्ष अपरेटरको माग बढ्दो छ । तर, अपरेटर बन्नका लागि दुई बाटो प्रचलनमा छन् – सीटीईभीटी मान्यता प्राप्त तालिम लिने वा अनुभवी अपरेटरसँग हेल्पर (सहायक) भएर सिक्ने । यी दुवै तरिकासँग आफ्ना सकारात्मक र नकारात्मक पक्ष छन्, जसको विश्लेषण आवश्यक छ ।

सबैभन्दा पहिला कुरा गरौं तालिमको । सीटीईभीटीले तयार पारेको पाठ्यक्रम इन्जिनियर, मेकानिक र अनुभवी अपरेटरहरूको सुझावमा निर्माण गरिएको हुन्छ । यसमा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई पनि जोड दिइएको हुन्छ ।

छोटो अवधिको भएपनि तालिमले अपरेटरलाई मेसिन सञ्चालनका आधारभूत पक्ष, साधारण मर्मतसम्भार र सुरक्षाका मापदण्डबारे स्पष्ट ज्ञान दिन्छ । यद्यपि तालिम सीमित अवधिमा हुने भएकाले लामो अनुभव भने तुरुन्तै प्राप्त हुँदैन । त्यसैले तालिमपछि केही समय सहायक अपरेटरको रूपमा काम गर्नुपर्ने आवश्यकता रहन्छ ।

अब कुरा गरौँ हेल्पर भएर सिक्ने । यस तरिकाले सिक्दा व्यक्तिले विभिन्न साइटमा काम गर्ने अवसर पाउँछ, कठिन परिस्थितिको समाधान गर्न सिक्छ र व्यावहारिक अनुभव बटुल्छ । तर यसको कमजोरी भनेको आधारभूत ज्ञानको कमी हो । सहायक भएर सिक्दा प्रष्ट संरचित पाठ्यक्रम हुँदैन, बरु अपरेटरसँगै काम गर्दा भेटिने अनुभवमा मात्र निर्भर रहनुपर्छ । यसले गर्दा अन्तर्राष्ट्रियस्तरमा तोकिएका मापदण्ड अनुसार दक्षता हासिल गर्न कठिन हुन सक्छ ।

यस्तै, तुलना गर्नका लागि चिकित्सा वा इन्जिनियरिङ क्षेत्रलाई उदाहरण लिन सकिन्छ । एमबीबीएस सकेका डाक्टर पनि कम्तीमा एक वर्ष सहायक डाक्टरको रूपमा अभ्यास गर्छन् । त्यस्तै, इन्जिनियरिङ सकेका इन्जिनियरले पनि सिनियर मेकानिकसँग काम गरेर अनुभव लिनुपर्छ । यसैले अपरेटरको तालिम र हेल्पर भएर सिक्ने दुवै एकअर्काको पूरक हुन्, प्रतिष्पर्धी होइनन् ।

नेपालमा अपरेटरलाई काम छैन भन्ने भ्रम अझै पनि छ । तर वास्तविकता भने फरक छ । नयाँ मेसिनहरू लगातार भित्रिएका छन्, निर्माण कम्पनीहरूले दक्ष अपरेटर खोजिरहेका छन् । तर दक्षताको कमीका कारण कहिलेकाहीँ मेसिन साइटमै थन्किन बाध्य हुन्छन् । यसैले आधारभूत ज्ञान बिना मात्र अनुभवमा भर पर्नु दीर्घकालीन रूपमा पर्याप्त हुँदैन ।

अर्कोतर्फ, सबै तालिम केन्द्रलाई दलालको संज्ञा दिने प्रवृत्ति पनि गलत हो । नेपालमै यस्ता संस्थानहरू छन् जसले दक्ष अपरेटर उत्पादन गरिरहेका छन् । अझै पनि धेरै युवाले तालिम लिनकै लागि भारत जानुपर्ने अवस्था छ, जसले देशमा प्राविधिक शिक्षालय विस्तारको खाँचो देखाउँछ ।

अन्ततः, दक्ष अपरेटर बन्नका लागि दुवै बाटो – तालिम र हेल्पर अनुभव – अपरिहार्य छन्। आधारभूत सैद्धान्तिक तथा प्राविधिक ज्ञानले जग बलियो बनाउँछ भने सहायकको अनुभवले त्यसलाई अझ निखार्छ । यी दुवैलाई संयोजन गर्न सकेमा मात्र नेपालले आवश्यक संख्यामा दक्ष अपरेटर तयार गर्न सक्छ ।
(लेखक सिटिजन्स सप्लायर्सका सिइओ हुन् ।)

You might also like

Comments are closed.