पर्यटक बढाउन अब के गर्ने ?

टीकाराम सापकोटा
विश्व पर्यटन संगठनको तथ्याङ्कअनुसार यूरोपमा सन् २०१९ को तुलनामा सन् २०२३ मा ६ प्रतिशत पर्यटक घटेका छन् । पर्यटन क्षेत्रबाट हुने आम्दानी तीन प्रतिशतमात्र घटेको छ । एसिया एण्ड प्यासिफिक क्षेत्रमा पर्यटक धेरै घटेको देखिन्छ । यो क्षेत्रमा ३५ प्रतिशत पर्यटक कम छन् भने ६४ प्रतिशत पर्यटन आम्दानी घटेको छ । अमेरिकामा १०, अफ्रिकामा ४ प्रतिशत पर्यटक घटेका छन् । मध्यपूर्वी क्षेत्रतिर सन् २०१९ को तुलनामा २२ प्रतिशत पर्यटक बढेका छन्, २३ प्रतिशत आम्दानी बढेको छ ।

हामी अहिले कोभिडको क्षतिबाट उठ्ने क्रममा छौँ । एसिया प्यासेफिक क्षेत्रमा सन् २०१९ बाट सन् २०२३ सम्म आउँदा पर्यटकको आवागमन र आर्थिक गतिविधिमा ६५ प्रतिशत सुधार भएको छ । नेपाल भएको दक्षिण एसिया क्षेत्रमा ८७ प्रतिशत सुधार छ । विश्व पर्यटन संगठनले सन् २०२४ मा पूर्ण रूपमा ठिक ठाउँमा आउँछौँ भनेर प्रक्षेपण गरेको छ । अर्थात् यो वर्ष हामी सन् २०१९ मा कोभिड सुरू हुनुअघिकै अवस्थामा पुग्छौँ ।

यूरोपका पर्यटक यूरोपभित्रै घुम्न रूचाउँदा रहेछन् । महँगो टिकट भएकाले पर्यटकहरू धेरै बाहिर घुम्न नगएकोजस्तो मलाई लाग्छ । छोटो दूरीको जहाज वा गाडीमा यात्रा गरेर जान सकिने गन्तव्यमा पर्यटक बढेका छन् । ट्रान्जिट भएर उड्ने गन्तव्यमा पर्यटक कम आएका छन् । फ्रान्स, अमेरिका, इटाली, स्पेनमा पर्यटक बढी देखिन्छन् । सन् २०२३ मा विश्वको कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ९.१ प्रतिशत छ, जुन सन् २०२२ को तुलनामा २३.२ प्रतिशत बढी हो ।

नेपालमा सन् २०२३ मा १० लाख १४ हजार ८७६ पर्यटक आएका छन् । औसत बसाइँ १३ दिन, प्रति पर्यटक ४१ डलर हारहारी खर्च छ । सरकारले यी पर्यटकबाट एक अर्ब एक करोड रूपैयाँभन्दा बढी राजस्व प्राप्त गरेको छ भने ५४ करोड ८२ लाख डलर पैसा यहाँ खर्च भएको छ । नेपालमा सबैभन्दा धेरै क्रमशः भारत, अमेरिका, चीन, बेलायत र अष्ट्रेलियाबाट पर्यटक आएका छन् । नेपाल आउने कुल पर्यटकको ६२.५ प्रतिशत बिदा मनाउन, १५.२ प्रतिशत ट्रेकिङ जान, १३.१ प्रतिशत मुक्तिनाथ, पशुपतिनाथजस्ता धार्मिक गन्तव्य जान र ९.२ प्रतिशत अन्य प्रयोजनका लागि आउँछन् ।

गण्डकी प्रदेशमा पर्यटक स्तरका सात सय होटल, १५० रेष्टुरेन्ट, ४७१ ट्राभल एजेन्सिज, २२८ ट्रेकिङ एजेन्सिज, ६५ प्याराग्लाइडिङ कम्पनी, तीन वटा अल्ट्रालाइट, एउटा हट एअर बेलुन, ११५ ट्रेकिङ सामग्री पसल, ८७ वटा पर्यटक स्तरका बस, १७३२ जना ट्रेक गाइड र १९ जना टुर गाइड छन् । हामीकहाँ ३४१ होमस्टे, ४२ मुद्रा सटही पसल, १२ वटा ¥याफ्टिङ एजेन्सी, ५०२ वटा डुंगा, ७५ वटा गार्मेन्ट पसल, ६३ वटा स्पा, पर्यटक पस्तक पसल १५, जिपलाइन दुई, बञ्जी जम्प तीन वटा छन् । पर्यटन क्षेत्रमा ७५ हजार जनाले रोजगारी पाएका छन् । साना तथा मझौला व्यवसायी आठ हजार छन् । सरकारी संयन्त्रमा दर्ता गर्दा देखाएको लगानी एक खर्ब ९२ अर्ब छ । तर, हाम्रो अनुमानअनुसार गण्डकीको पर्यटन क्षेत्रमा ५ खर्बको लगानी छ ।

पोखरामा सन् २०१० सम्म पर्यटकको तथ्याङ्क राख्ने गरिएको थियो । अहिले हामीसँग त्यो व्यवस्था छैन । पोखरा महानगरपालिकाका अनुसार नेपाली १० लाख, भारतीय २ लाख ४६ हजार र अन्य देशबाट पाँच लाख पर्यटक पोखरा आउने अनुमान छ । हामी एउटा घडी पनि बनाउन नसकेको अवस्थामा प्राकृतिक सम्पदा र साँस्कृतिक विविधतालाई संरक्षण र विकास गर्न सके विश्वमा प्रतिस्पर्धा गर्न सक्छौँ । पर्यटन क्षेत्रमा क्षतिको सम्भावना धेरै हुन्छ । मानौँ कुनै होटलमा ५० वटा कोठा छ भने त्यसलाई आजै बेच्नपर्छ, स्टोर गरेर राख्न सकिँदैन । फेन्सी पसलमा एउटा ज्याकेट म आज पाँच सयमा बेच्दिन, भोलि बेच्छु भन्यो भने स्टोर गरेर राख्न सकिन्छ । त्यसैले धेरै जोखिम हुन्छ, माग असन्तुलित हुन्छ ।

पोखरा र गण्डकी प्रदेशमा हामीसँग नेपालमा भएका पर्यटन क्षेत्रका चार वटा सबल पक्ष छन् । प्राकृतिक सुन्दरता, साँस्कृतिक विविधता, मौसमको अनुकूलता र आतिथ्य हामीसँग छ । मानव सिर्जित गन्तव्य कम भएपनि हामीसँग छन् । इभेन्ट केन्द्रित पर्यटन पनि हामीसँग हुन्छ, किनकि मेला–महोत्सव भइरहन्छ । हाम्रो पर्यटन क्षेत्रको अर्को समस्या विदेश पलायन पनि हो । ५/७ महिना काम गर्ने अनि विदेश गइहाल्ने समस्या छ । हामीसँग भएको प्राकृतिक र साँस्कृतिक स्रोतलाई आफैँले बेवास्ता गरेका छौँ । कनेक्टिभिटीमा हामी कमजोर छौँ । पोखरा आउने बाटो बिग्रिएको, पोखराबाट अन्य गन्तव्यमा जाने बाटो बिग्रेकाले तत्काललाई सडक सञ्जाल हाम्रो कमजोरी हो । अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

पर्यटकीय राजधानी घोषणा गर्नु आफैँमा अवसर हो । भारत र चीनको अर्थतन्त्र र जनसंख्या बढ्नु पनि हाम्रो लागि अवसर हुन सक्छ । दोहोरिएर पर्यटक आउनु पनि राम्रो पक्ष छ । पोखरामा ४० प्रतिशत पर्यटक दोहोरिएर आउँछन् । मोबाइल फोटोग्राफी बढ्नु पनि हामीलाई अवसर हो । विश्वका धेरै पयर्टक साहसिक गतिविधि प्रेमी देखिएका छन् । अमेरिका, यूरोपमा मानव निर्मित पर्खाल, नदी बनाउने र विभिन्न गतिविधि गराइन्छ । हाम्रोमा ती कुरा प्रकृतिले नै दिएकाले त्यसमा साहसिक गतिविधि गर्न सकिन्छ । कोभिडभन्दा अगाडि २०/३०/४० जनाको समूह आउँथ्यो । कोभिडपछि सोलो ट्राभल बढेको छ ।

विश्वको अर्थतन्त्रको उतारचढावले हामीलाई समस्या पारेको छ । पेट्रोलियम र खाद्य पदार्थको मूल्य बढ्दा पर्यटन क्षेत्रमा असर परेको छ । पेट्रोलियम पदार्थको मूल्य बढ्दा जहाजको भाडा बढेको छ र खाद्यान्नको मूल्यवृद्धिले जीवन असहज बन्दा थ्रेट दिएको छ । सरकारी नीति नियम, प्रभावकारी प्रचार नभएका चुनौती हामीसँग छन् । हामीले नेपाल र पोखरा सबै मौसमलाई भन्न थालेका छौँ । पहिला मार्च, अप्रिल, मे र सेप्टेम्बर, अक्टोबर र नोभेम्बरमा पर्यटक बोलाउँथ्यौँ । त्यो हुँदा अफसिजनमा पर्यटक नपाउने, सिजनमा दसैँ–तिहार परेर टिका लगाउन पनि भ्याउँथेनौँ । हाम्रो मनसुन हप्ताभर हुन्न । पानी परेपनि दिनमा तीन देखि चार घण्टा पर्छ । मनसुनको पनि आफ्नै आकर्षण हुन्छ ।

ब्राण्डिङ गर्दा के कुरामा ध्यान दिने ? हेर्दा आकर्षक हुनुप¥यो । उत्साह जगाउने, गन्तव्य चिनाउने हुनुप¥यो । सबैले सम्झने यूनिक हुनुप¥यो । गन्तव्य ब्राण्डिङमा भारतले ‘इन्क्रेडेबल इन्डिया’, बैङ्ग्लोरले ‘सिलिकन भ्याली अफ इन्डिया’, जयपुरले ‘पिंक सिटी’, मलेसियाले ‘ट्रुली एसिया’ अष्ट्रेलियाले ‘दिअर इज नोथिङ लाइक अष्ट्रेलिया’, लस भेगसले ‘क्यासिनोज अल ओभर’ भनेर ब्राण्डिङ गरेको थियो । ‘आइ लभ न्यूयोर्क’ भन्ने सफल ब्राण्डिङ हो । माथिका ब्राण्डिङले आफ्नो सहरको व्याख्या गरेको छ ।

पोखरालाई पनि ब्राण्डिङको प्रयास विगतदेखि नै हुँदै आएको छ । ‘पोखरा – पिओर एण्ड पर्फेक्ट’, ‘प्याराडाइज पोखरा’, ‘जाऊँ है पोखरा’, ‘चलिए पोखरा’, ‘पोखरा पिओर एज प्याराडाइज’ भनेर पोखराको प्रचार गरिँदै आएको छ । लेखनाथको पनि ‘गार्डेन सिटी अफ सेभेन लेक्स’ भनेर ब्राण्डिङ गरियो । अहिले पोखरा नेपालको पर्यटकीय राजधानी भनेर ब्राण्डिङ गरिएको छ । अब स्थानीय सरकार र प्रदेश सरकारले बनाउने नीति र ल्याउने कार्यक्रम निजी क्षेत्र मैत्री हुनुपर्छ ।

नेपाल पर्यटन बोर्डजस्तै पीपीपी मोडलमा त्यस्तै संयन्त्र चाहिने हो कि ! आकस्मिक रेस्क्यु टोली, ट्रेकिङ रूटमा स्वास्थ्य केन्द्र निर्माण, ट्रेकिङ क्षेत्रमा सुविधा सम्पन्न होटल, एमक्याप र एमक्यापको दोहोरो शुल्क हटाएर महिना दिनको अनुमति दिँदा राम्रो हुन्छ । हरियो प्लेटको गाडीलाई २० वर्षपछि चल्न रोक लगाउने भनिएको छ तर एअर क्वालिटी जाँचेर निर्णय लिनुपर्छ । अहिले एउटा ट्रेकिङ कम्पनी खोल्दा सात ठाउँमा गएर दर्ता गर्नपर्छ, रिन्यु गर्नुपर्छ । व्यवसाय दर्तालाई एकद्वार बनाउन सके राम्रो हुन्छ ।

धौलागिरी ट्रेकको विकास गर्नपर्छ किनभने नयाँ ट्रेक हो र त्यसले पोखरालाई फाइदा पुग्छ । गण्डकी प्रदेशले नेपालभित्रै, भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रम गर्नुपर्छ । अध्यागमनमा विदेशी आउँदा परमिट लिन दुई घण्टा लाइन बस्नपर्छ । यस्तो कुरालाई ख्याल गर्नुपर्छ । यो सानो कुरा हो तर ठूलो असर गर्छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेपछि अरू सहरका व्यवसायी र मान्छेको धारणा के छ ? उनीहरूलाई पनि हामीले सकारात्मक बनाउन सक्नुपर्छ ।

(नेपाल पर्यटन बोर्डका पूर्व बोर्ड सदस्य सापकोटाले आर्थिक आवाजले पोखरामा आयोजना गरेको पर्यटकीय राजधानी पोखराको ब्राण्डिङ केन्द्रित बहस कार्यक्रममा प्रस्तुत गरेको कार्यपत्रको सम्पादित अंश ।)

 

You might also like

Comments are closed.