‘साउन १५ – हाम्रो खिर खाने संस्कृती’

प्रल्हाद दाहाल
काठमाडौं । हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतीलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकाले नै हाम्रो देशको कला, संस्कृती एवं परम्परा अहिलेसम्म बाँचिरहेकोछ । हामी दहि, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गर्दछौं । यी सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन् । त्यसैगरी प्रत्येक वर्ष साउन १५ गते खिर खाएर पर्व मनाउने गरिन्छ । हाम्रा पुर्खाहरुले देशमा यसरी संस्कृतीलाई जोगाइ राखेका छन् । यो हाम्रो लागि ठूलो धन सम्पत्ति हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा समेत धेरै ठूलो टेवा पुग्दछ । हाम्रो देशको संस्कृती भनेको विश्वको नमुना हो । यस्तो संस्कृती कतै पनि अन्य देशमा छैन । तर अब भने यसको जर्गेनाको पाटो ठूलो कठिनाई भएको छ । यसमा आम जनताको चासो रहन अत्यन्तै आवश्यक छ । आजसम्म त हामी पुरानो नयाँ दुबै पुस्ता बुझ्ने वर्ग छौं । आजसम्म जे जसरी भएपनि सबै किसिमका चाडपर्व, रितिरिवाज, धर्म, संस्कृती, परम्परा जोगिरहेको छ । तर अबका पुस्ताले यो कुरा सबै बुझेको हुदैनन् । हो, त्यसकारण हाम्रो यो पुस्ताले अबका पुस्तालाई हाम्रा सबै किसिमका कुराहरु हस्तान्तरण गर्न आवश्यक छ । यसो गरिएन भने यी सबै कुराहरु एकादेशका कथा बराबर हुनेछन् ।

साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ । साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्करा पाउनको लागि पनि खिर खाने चलन रहेको पाइन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले खिर खाने चलन रहेको पाइन्छ । वर्षायाममा विभिन्न सङ्क्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस र सङ्क्रमण नहोस्, थकान नलागोस्, फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ । साउन गर्मी महिना भएको कारण पहिला–पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ । यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दूध र दूधजन्य पदार्थको बढि नै सेवन हुने गरेको पाइन्छ । खिरलाई अत्यन्तै चोखो खानेकुरामा पनि लिइन्छ । हरेक शुभकार्यमा खिरलाई प्रसादको रुपमा पनि समावेश गरिन्छ ।

पहिला–पहिला गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरिरलाई आवश्यक पर्ने सबैखाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्धत पुग्ने गरेको देखिन्छ । यी सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाले धेरै सोँचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएतापनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिन सक्ने गरी कम्तिमा वर्षको एकदिन भएपनि खानुपर्ने गरी चाडपर्वको व्यवस्था भएको देखिन्छ । बैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ । यस अर्थमा पनि हाम्रा पू्र्खाहरु अत्यन्तै बुद्धिमान मान्न सकिन्छ ।

आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएतापनि त्यसको सही उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या धेरै उत्पन्न भएको पाइन्छ । त्यसकारण पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजनको लागि लाभदायक भएकोे देखिन्छ । आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दूधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ । दैनिक उत्पादनको दूधले नपुग्ने भएकोले डेरी उद्योगले दुई चार दिन अगाडिदेखि नै दूध भण्डारण गरी राख्ने र नपुगेमा धुलो दूध मिसाएर बजारमा लाने गर्दछन् । यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भव्य रुपमा मनाउँदछौं । हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरी हाम्रा भावि पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । यसलाई सही तवरले परिचालन गर्न सक्ने हो भने विदेशी पाहुना ल्याउन समेत ठूलो मद्दत पुग्नेछ । हामीले अरुको देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो देशका धर्म संस्कृतीलाई भुल्नु हुँदैन । देशका सबै किसिमका चाडपर्व मनाउँ, हाम्रो संस्कृती बचाऊ । साउन १५ मा जहाँ भए पनि खिर अनिवार्य सेवन गरौं ।

(लेखक नेपाल डेरी एसोसिएसनका केन्द्रिय अध्यक्ष हुन् )

You might also like

Comments are closed.