लाइसेन्स नवीकरण गर्न एकान्तकुना जाँदा मैले जे देखेँ

सुरेन्द्र पौडेल

गत जेठको पहिलो साता एउटा गाडीको लन्च इभेन्ट मनाङमा तय भयो । उक्त इभेन्टमा सहभागी हुन काठमाडौंबाट मनाङका लागि ४ दिनको यात्रा तय गरियो । गाडी टेष्ट ड्राइभ गर्न चाहनेका लागि ड्राइभिङ लाइसेन्सको फोटो मागिएको थियो । मैले पर्सबाट लाइसेन्स निकाले । लाइसेन्स हेरेपछि आफै झसङ्ग भएँ । २०२४ डिसेम्बरमै ५ वर्षे अवधि सकिएको रहेछ । थप ९० दिनपनि क्रस भइसकेको ।

मैले यस अगाडि पोखरा यातायात कार्यालयबाट लाइसेन्स निकालेको थिएँ । भोलिपल्ट मनाङको यात्रा तय गर्नुछ आज पोखरा गएर लाइसेन्स नवीकरण गर्न सम्भव थिएन । घडी हेरेको १ बज्न लागिसकेको थियो । स्मार्ट लाइसेन्स भएकाले काठमाडौंबाटै नवीकरण गर्न मिल्छ भन्ने थोरै जानकारी थियो ।

यातायात कार्यालय एकान्तकुना गएँ । पोखराको लाइसेन्स नवीकरण गर्न मिल्छ ? मैले सोधें माथि गएर सोधेर आउनुस्, (कोठा नम्बर याद भएन) माथि गए सोधेँ, एक जना अफिसरले भने, मिल्छ सर स्मार्ट लाइसेन्स जहाँको भएपनि नवीकरण गर्न मिल्छ ढुक्क भएर लाइन बस्नुस् ।

तल आएर १०० नम्बर रुपमा लाइन बसेँ । लाइनमा २०/२२ जना जति हुँदा हुन् । सबैको हातमा लाइसेन्ससँगै नागरिकता पनि थियो । मसँग नागरिकता थिएन । नजिकै रहेका प्रहरी (असई हुनुपर्छ) लाई सोधेँ । सर नागरिकता छैन, राष्ट्रिय परिचयपत्र छ, नवीकरण हुन्छ ? हुन्छ सर, मुस्कानसहित उनले जवाफ दिए । लाइन बसेपछि नागरिकता नै चाहिने होकि ? ढुक्कसँग लाइन बस्नुस्, केही पर्यो भने हामीलाई भन्नुहोस् । कस्तो मिठो बोली थियो उनको ।

१० मिनेट भित्रै मेरो पालो आयो । जहाँबाट मैले टोकन प्राप्त गरेँ । त्यहाँबाट अर्को १०४ रुममा पठाइयो । जुन भित्र थियो । त्यहाँ बायोमेट्रिक गरिन्थ्यो । म अगाडि १ जना मात्रै लाइनमा थिए । २ मिनेट भित्रै बायोमेट्रिक सकियो । त्यसपछि १०५ नम्बर रुममा मेडिकल गर्न गएँ । जहाँ आँखाको दृष्टि मात्रै सामान्य चेक गरियो । चस्मा खोल्नुपर्छ ? पर्दैन सर, उनले त्यहाँबाट पास गराएर पठाए । मेडिकलको काम पनि १/२ मिनेट भित्रै सकाएँ ।

त्यसपछि १०६ नम्बर रुममा गएँ । लाइनमा ३ जना थियौं । पालैपालो काम भइरहेको थियो । २/३ मिनेटमै मेरो पालो आयो । जहाँ लाइसेन्स नविकरण एप्रुभ भयो ।

त्यसपछि १०७ मा गएँ । जहाँ लागेको दस्तुर डिपोजिट गर्नुपर्ने बैंक थियो । म्याद सकिएकाले जरिवानासहित लागेको दायित्व बैंकमा डिपोजिट गरेँ । त्यसपछि पुनः १०६ नम्बर रुममै आएर डिपोजिट स्लिप देखाएँ । काम सकियो सर ? सकियो अब लाइन्सेस प्रिन्ट भएपछि मोबाइलमा मेसेज आउँछ भन्ने जानकारी पनि प्राप्त भयो ।

कहिलो आउँछ सर लाइन्सेस ?

अधिकृतले भने, थाहाँ छैन सर, तर समय लाग्न सक्छ ।
त्यसपछि उनले सोधे, कस्तो लाग्यो सर हाम्रो सेवा ?

मैले पनि मुसुक्क हाँस्दै भने, गज्जव लाग्यो सर । लाइसेन्स नवीकरणमा झन्झट हुन्छ, आजै काम सकिदैन भन्ने सोँचको थिएँ । एक घण्टामै नवीकरण भयो ।

त्यसपछि आफ्नो बाटो लागेँ । मनमनै सोँचे, सरकारी कार्यालयको सेवामा धेरै सुधार भएको छ । तर, जति हुनुपर्ने हो त्यति अझै भएको छैन ।
आशा गरौं क्रमशः सुधार हुँदै जानेछ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.