नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को आयोजनामा पोखरामा ‘वाडा अटो शो २०२५’ हुँदैछ । चैत १४ देखि १७ सम्म हुने ‘अटो शो’का सन्दर्भमा केन्द्रित रहेर वाडाका उपाध्यक्ष एवं अटो सो संयोजक निरन केसीसँग गरिएको संक्षिप्त कुराकानीः
नाडा र वाडाको संयुक्त आयोजनामा पोखरामा पहिलो पटक अटो शो हुँदैछ । अटो शोको मुख्य आकर्षण केके रहन्छन् ?
हामीले पोखरामा पहिलो पटक ‘वाडा अटो शो २०२५’ आयोजना गर्दैछौं । यो कार्यक्रम चैत १४ देखि १७ सम्म पोखराको अमरसिंहचौरमा हुनेछ । कार्यक्रम नेपाली अटोमोबाइल उद्योगका लागि महत्वपूर्ण अवसर हो । देशभरमा रहेका अटोमोबाइलका प्रमुख ब्राण्डलाई एकै स्थानमा देखाउने अवसर अटो शोमा मिल्नेछ । विद्युतीय गाडीहरूको बाहुल्यता देखिएको छ । संसारभर इभी क्षेत्रमा भित्रिएका नविनतम प्रविधिलाई नजिकबाट बुझ्न तथा एउटै थलोमा धेरै ब्राण्डको अनुभव लिनका लागि अटो शो महत्वपूर्ण अवसर बन्नेछ ।
अटो शोमा कुन–कुन प्रमुख ब्राण्डको सहभागिता रहनेछ ?
पोखरामा पहिलो पटक हुन लागेको अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर, डङफेङ जस्ता ब्राण्डहरूले आफ्नो लाइट कमर्शियल गाडीहरूको प्रदर्शन गर्नेछन् ।
नेपालमा विद्युतीय गाडीहरूको लोकप्रियता बढ्दो छ । तपाईको विचारमा यो अटो शोले इभी बजारमा कस्तो प्रभाव पार्ने छ ?
नेपालमा विद्युतीय गाडीहरूमा क्रेज बढ्दो छ । देशभरको बजारमा जस्तै पोखरामा पनि इभीमा आकर्षण देखिएको छ । नेपालमा बिक्री हुने प्राय सबै ब्राण्डका शोरुम पोखरामा छन् । अटो सोमा पनि इभी गाडीहरुको बाहुल्यता छ । मानिसहरूले अब इभीको पक्षमा झुकाव बढाएका छन् । ग्रीन टेक्नोलोजी र इन्धन खर्चको कमि गर्ने प्रवृत्तिको कारण पनि विद्युतीय गाडीहरूमा बढी चासो देखिन्छ । यो अटो शोले यस्तो प्रवृत्तिलाई थप प्रोत्साहन दिने विश्वास छ र हामीलाई पक्का विश्वास छ कि यो कार्यक्रमले धेरै दर्शकहरूलाई आकर्षित गर्नेछ ।
अटो शोमा अन्य के–कस्ता सुविधाहरू उपलब्ध हुनेछ ।
ग्राहकहरूको लागि हामी स्पट एक्स्चेन्ज र फाइनान्सिङको सुविधा उपलब्ध गराउने छौं। यो सुविधा अटो शोमा आउने सबै दर्शकहरूका लागि प्रयोग गर्न सकिनेछ, जसले गाडी खरिद गर्न इच्छुक ग्राहकलाई विशेष अवसर प्रदान गर्नेछ। साथै, अटो कम्पोनेन्ट्स, इन्स्योरेन्स र ग्यारेज उपकरण जस्ता अतिरिक्त कम्पनीहरूको स्टल पनि रहनेछन् जसले एक समग्र अनुभव प्रदान गर्नेछ ।
अन्त्यमा के भन्नुहुन्छ ?
पोखरामा पहिलो पटक अटो सो आयोजना हुँदैछ र यहाँको बजारमा अटोमोबाइलहरूको ठूलो माग छ । हामीलाई विश्वास छ कि यो अटो सो पोखरामा अटोमोबाइल उद्योगको लागि एक नयाँ सुरुवात हुनेछ। यसले पोखराको पर्यटन र व्यापार क्षेत्रमा पनि सकारात्मक प्रभाव पार्ने छ, र भविष्यमा अटो सो आयोजना गर्ने क्रममा अझ ठूलो सहभागिता र सफलता हासिल हुनेछ।
Comments are closed.