घट्यो आयात, बढ्यो निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्याङ्कअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो ।

भन्सार विभागको तथ्याङ्कमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा चार खर्ब दुई अर्ब रुपैयाँको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा ४० अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

तथ्याङ्कानुसार चार महिनाको अवधिमा चार खर्ब ४२ अर्ब ६९ करोड रुपैयाँको वैदेशिक व्यापारबाट नेपालले तीन अर्ब ६२ करोड रुपैयाँ घाटा बेहोरेको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा चार खर्ब ८६ अर्ब ५७ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार हुँदा रु चार खर्ब १४ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा थियो ।

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ ।

You might also like

Comments are closed.