जङ्गली च्याउ र बाँसको तामाले छाक टार्दै बादी परिवार

प्रेमनारायण आचार्य, अर्घाखाँची । शीतगङ्गा नगरपालिका– ६ दाङगसिङगको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लाष्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । वर्षाको समयमा सबै घर चुहिएर न बस्न मिल्छ न सुत्न नै मिल्छ ।

पाखापानीमा फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीकाबहादुरको परिवारमा बस्न मात्र होइन, खानका लागि पनि अन्न छैन । उनले सुनाए, “पहिले पहिले गाउँमा डुलेर गाउँलेले दिएको अन्न र पैसाले परिवार पालेका थिए, अहिले कोरोनाले गाउँ डुल्न पनि पाइँदैन, घरमा खाने अन्न छैन, कति दिन त जङ्गलको च्याउ र बाँसको तामा खाएर छाक टारेका छौं ।”

श्रीमती गुमाएका टीकाबहादुरका पाँच छोराछोरी छन् । उनी आफै अपाङ्गता भएका व्यक्ति हुन् । एक हात र एक खुट्टाका आंैला गाँसिएका छन् । उनले कसैकामा मेलापात गएर पनि काम गर्न सक्दैनन् । “साना बालबालिका पाल्न पनि गारो छ, घर यस्तै छ”, गहभरी आँशु झार्दै उनले भने, “परिवार कसरी पाल्ने ? गाउँभर डुल्थे गाउँलेले दया गरेर कसैले अन्न र कसैले पैसो दिन्थे, त्यही पैसा र अन्न घरमा लगेर छोराछोरी पालेको थिएँ, अहिले कोरोनाका कारण गाउँ हिँड्न पनि भएन, गाउँमा हिँड्न हँुदैन् रोग सर्छ भन्छन्, अहिले खाने खर्चै छैन, खाने खर्च नहँुदा जङ्गलमा गएर च्याउ खोजेर ल्याएर कहिले च्याउ मात्र खान्छांै, कहिले बाँसका तामा काटेर जेनतेन छाक टारेका छौं ।”

उनी सामान्य खालको घर, त्यो पनि पानी बलेनी नै नपर्ने छानो नै नभएको घरमा दिन बिताउन बाध्य भएका छन् । उनले भने, “मनभरी पीडा छ, मनमा सन्तोष छैन्, नत बस्ने घर नै छ, न खाने गाँस छ, हाम्रो पीडा कसले कहिले बुझिदिने, हाम्रो पीडा सुन्ने कोही छैन, पटकपटक घर बनाउने टिन दिने भनेर आश्वासन दिए पनि हामीलाई अहिलेसम्म दिएनन्, गाउँमा सरकारी टिन लिएर लगाएको हामीले नै देखिरहेका छौँ ।”

कोभिड र गरिबीका नाममा थुप्रै राहातका प्याकेज र कार्यक्रम आए तर पनि यो परिवारलाई कसैले देखेको छैनन् । कसैले राहात दिएको छैनन् । उनीहरुको पीडा जस्ताको तस्तै छ । दाङगसिङगको पाखापानीकै २८ वर्षीय बोमु बादी शारीरिक हिसाबले पनि अपाङ्गता भएका व्यक्ति हुन् । उनी घरमै बसिबसी मादल बनाएर परिवारको गुजरा चलाउँदै आएका थिए । अहिले उनी निकै पीडामा छन् । उनले भने, “हाम्रो त घर भन्ने भएन, बरु ठूलो रुखमुनी गएर बसे सुरक्षित हुन्छांै जस्तो लाग्न थाल्यो, घाम पानीसँग त लडेकै छांै, भोकसँग पनि लड्न परेको छ, धेरै दिनभयो खाना पूरा पेट खाने स्थिति छैन ।”

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणसम्मको प्रक्रिया अगाडि बढाइ खातासम्म खोलेको तर अन्तिममा आएर काम हुन नसकेको शीतगङ्गा– ६ का वडाध्यक्ष ऋषि रेश्मीले बताए । रेश्मीले भने, “निकै पीडादायक स्थिति छ, हामी गम्भीर छांै, राहत दिने गरी यस वर्ष सिफारिस गरेर काम अन्तिममा पुग्दा पनि पैसा दिन सकिएन, कर्मचारीले ढिला भो काम गर्न सकिएन, हामी निकै विवश छांै, यो वर्ष जसरी पनि काम समयमै गर्ने योजनामा छौं ।”

योजना तथा कार्यक्रमको प्रक्रिया नै ढिलो गर्दा काम गर्न नसकिएको नगरपालिका प्रमुख प्रशासकीय प्रेमबहादुर केसीले बताए । उनले भने, “असार मसान्तको अन्तिम दिनसम्म उनीहरु खाता खोल्ने काम गर्दै थिए, सरकारले काम नगर्दा अहिले काम हुन सकेन, अन्तिममा कामको पनि चाप भयो ।”

धेरै पटक समस्या राख्दा पनि वडा र नगरपालिकाले व्यवस्था गरेको जनताको समस्याप्रति जिम्मेवार नभएको सोही वडाका सञ्चारकर्मी विक्रम आचार्यले बताए । उनले भने, “बादी समुदायका केही बस्तीको अवस्था हेर्दा निकै पीडादायी नै छ, कति पटक भन्नु जनताको काम गर्नलाई कसले रोकेको हो, पहँुचका आधारमा मात्र काम गर्ने आवाज विहीनहरुको आवाज कहिले सुन्ने ?”

शीतगङ्गा–६ दाङसिङ पाखापानीमा बसोबास गर्दै आएका बादी समुदायले परम्परागत रुपमा मादल बनाएर तथा मर्मत गरेर त्यसबाट आउने आर्थिक आम्दानीले जीविकोपार्जन गर्दै आएका थिए । पछिल्लो समय कोभिड–१९ को महामारीका कारण स्थानीय रुपमा तिजको नाचगान तथा दिपावलीमा नाचिने देउसी भैली सञ्चालन नहुँदा उनीहरु अन्य पेशा व्यवसाय अंगाल्न बाध्य छन् ।

पहिले साउन सङ्क्रान्तिदेखि निरन्तर माघसम्म विभिन्न पर्वमा काम गर्ने गरेको बोमु बादीले बताए । उनले भने, “पहिले मादल बनाएर सिजनमा रु एक लाखदेखि एक लाख ५० हजार आम्दानी हुन्थ्यो । परिवार पाल्न सजिलो थियो, तर आजभोलि मादल बिक्री नै छैन, मर्मतका लागि पनि कोही आउँदैनन् ।”

You might also like
Ram Tulasi Palpa

Comments are closed.