कुमारी र एनसीसी बैंकले पुस १७ देखि एकीकृत कारोबार गर्ने

काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले पुस १७ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन्। नेपाल राष्ट्र बैंकले मंगलबार एक सूचना जारी गर्दै यी दुई बैंक गाभिएर आउँदो आइतबारदेखि एकीकृत कारोबार गर्ने जनाएको हो ।

दुवै बैंकबीच गत असोज १० मा मर्जरमा जाने सम्झौता भएको थियो। गत मंसिर २५ गते बसेको दुवै बैंकको विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । अब यी दुवै बैंकको ‘कुमारी बैंक लिमिटेड’ का नामबाट कारोबार हुनेछ ।

मर्जर सम्झौताअनुसार दुवै बैंकबीच सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) एक बराबर एक हुनेछ। अर्थात् एकीकृत कारोबारपछि अहिले कुमारी र एनसीसी बैंकका लगानीकर्ताको सेयर सङ्ख्या थपघट हुनेछैन।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको कामाडौं महानगरपालिका–२ स्थित टङ्गालमा रहनेछ। एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस १५ र १६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।

You might also like

Comments are closed.