‘कृषि, हस्तकला र पर्यटनसहितको व्यवसाय चलायमान बनाउन मेला गरिएको हो’

बलराम आचार्य, महासचिव, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९ भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । पोखराको नयाँ बजारमा आयोजना हुने मेलाको समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ ।

मंसिर १६ देखि २५ गतेसम्म आयोजना हुने मेलाको शुक्रबार गण्डकीका कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नेछन् । मन्त्री थापा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत हुन् । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य,पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुर्‍याउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

लगानीको सम्वर्द्धन : ‘उद्योग ब्यवसायको प्रवर्द्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना गरिएको हो । प्रस्तुत छ, यसैसन्दर्भमा संघका महासचिव बलराम आचार्यसँग आर्थिक आवाजका लागि मीरा साउँदले गरेको कुराकानीः

jutta mela

कोभिडका कारण दुई वर्ष रोकिएको राष्ट्रिय औद्योगिक व्यापार मेला यस वर्ष आयोजना गरिएकोे छ, कस्तो छ तयारी ?

हामीले समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७९’ पोखरा प्रदर्शनी केन्द्र नयाँ बजारमा यही मंसिर १६ गतेदेखि २५ गतेसम्म सञ्चालन गर्दैछौं । पोखरा उद्योग वाणिज्य संघको ३४ औं महाधिवेशन भदौको २४ र २५ गते सम्पन्न भएको थियो । यस वर्ष मेला गर्नुपर्छ भन्ने हाम्रो सुरु देखिकै योजना हो । दसैं, तिहार, छठ पर्व पछि निर्वाचनको माहोल बन्यो ।

मंसिर ४ मा संघ र प्रदेशको निर्वाचन सम्पन्न भयो । सवै कुरालाई मध्यनजर गरेर हामीले मंसिर १६ बाट मेलाको आयोजना गरेका हौं । मेलालाई सभ्य र भव्यरुपमा सम्पन्न गर्नुपर्छ भनेर पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यहरुलाई एउटा-एउटा उपसमितिको जिम्मेवारी दिएर हामीले मेलाको सम्पूर्ण कामलाई व्यवस्थित बनाउन लागि परेका छौं ।

मेला आयोजना गर्नुको मूख्य उद्देश्य के हो ?
दुई वर्ष हामीले कोभिडका कारण मेला महोत्सवहरु गर्न सकेनौं । कोभिडकै कारण धेरै व्यवसाय बन्द भए । कति व्यवसायहरु धरासायी भए । अहिले पनि सबै कुराले सहज परिस्थिति त होइन तर, पोखरा उद्योग वाणिज्य संघ, यहाँका निजी संस्थाहरु हामीले त्यत्तिकै हात बाँधेर बस्नु भन्दा मेला आयोजना गर्यौ भने व्यवसाय चलायमान हुन्छ र यहाँको पर्यटनदेखि लिएर कृषि, हस्तकलाको उत्पादनहरुको केही मात्रामा भए पनि प्रवर्द्धन गर्न र आर्थिकरुपले पनि चलायमन बनाउन मेला आयोजना गरेका हौं ।

मेलामा कति र कस्ता स्टल रहन्छन् ?
मेलामा डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका स्टल गरी २५० स्टल रहेका छन् । मेलामा दैनिक उपभोग्य एवं अन्य सामग्रीमा भारी छुट रहने छ । कृषि, हस्तकला, स्थानीय उत्पादनलाई विशेष छुटमा स्टल उपलब्ध गराएका छौं ।

मेलामा टिकटको व्यवस्थापन कसरी गर्नुभएको छ ?
हामीले टिकट दर सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीलाई सहुलियतमा ६० रुपैयाँको टिकट निर्धारण गरेका छौं । इ–सेवाको माध्यमबाट पनि अवलोकनकर्ताहरुलाई टिकट बुकिङ गर्न सक्ने व्यवस्था गरेका छौं र, टिकट काटेर अवलोकन गर्ने अवलोकनकर्ताहरुलाई प्रत्येक दिन वोर्ड प्राइजको उपहार ५ हजारदेखि ३० हजारसम्मको उपहारहरु र अन्तिम दिन बम्पर उपहार पनि राखेका छौं ।

अहिले पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला परिसरभित्र प्रवेश गर्ने अवलोकनकर्ताहरुका लागि अफिसियल हस्पिटलका रुपमा पोखरा मणिपाल शिक्षण हस्पिटललाई लिएका छौं । त्यसैगरी ग्यालेक्सी हस्पिटलले पनि हामीलाई सहयोग गरिरहेको छ । त्यहाँको उपचारमा विभिन्न क्याटेगोरी छुट्याएर हामीले त्यहाँ ७.५ प्रतिशतदेखि २० प्रतिशतसम्मको छुट, ६ महिनासम्मको छुटको व्यवस्था पनि हामीले गरेका छौं

मेलाका मुख्य आकर्षणहरु के–के छन् ?
मेलाको आकर्षणको रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको बिक्री वितरण रहेको छ ।

त्यस्तै, सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला संघले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिमसमेत प्रदान गर्नेछ । मेलामा राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक कार्यक्रम गरिनुका साथै रत्यौली गीत प्रतियोगिता र डान्सिङ स्टार प्रतियोगिता पनि राखिएको छ । बालबालिकाको लागि बाल उद्यान पनि छ ।

कति दर्शकले मेलाको अवलोकन गर्ने अपेक्षा गर्नुभएको छ ?
करिव ३ लाख दर्शकहरुले मेलाको अवलोकन गर्ने हामीले अनुमान गरेका छौं ।

मेलाको अनुमानित खर्च र कारोबार कति हुने अनुमान गर्नुभएको छ ?
हामीले मेलामा १ करोड भन्दा बढीको कारोबार हुने अनुमान गरेका छौं । मेलाको खर्च ८५ लाख रुपैयाँ हुने अनुमान छ । मेलाबाट १५ लाख रुपैयाँ बचत हुन्छ भन्ने हामीले अनुमान गरेका छौं । हामीले विगतको वर्षहरुमा प्रति टिकट २ रुपैयाँ, ३ रुपैयाँ, ५ रुपैयाँ छुट्याएर बालश्रम न्यूनिकरण भनेर सडक बालबालिकाहरुलाई विभिन्न केन्द्रहरुमा राखेर संरक्षण गरिरहेका थियौं ।

अहिले यहाँ बालश्रम करिब ९५ प्रतिशत निर्मूल भइसकेको अवस्था छ । हामीेले संघको ३४ औं महाधिवेशनमा पनि वहुउद्देश्यीय भवन निर्माण गर्ने योजना बनाएका थियौं । अहिले बचत हुने केही रकमलाई हामीेले यही भवन निर्माणमा खर्चिने योजना बनाएका छौं । उद्यमशीलता प्रवर्द्धन गर्न तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि पनि सो रकम खर्च गर्नेछौं ।

कोभिड महामारी पश्चात मेलाको आयोजना हुँदैछ । अवलोकनकर्ताहरुमा यहाँको सन्देश के छ ?
हामीले कोभिडकै कारण २ वर्ष मेलाको आयोजना गर्न सकेनौं । अहिले कोभिड संक्रमण न्यून भइसकेको अवस्था छ भने पछिल्लो समय महामारीको रुपमा देखिएको डेंगुको प्रभाव पनि हराउदै गएको छ । हामीले मेला परिसरमा पनि स्वास्थ्य प्रोटोकलहरु अपनाउछौं । त्यहाँ माक्स, सेनिटाइजरको पनि व्यवस्था गछौं । मेला परिसरमा भइपरी आउने आकस्मिक उपचारकालागि एम्बुलेन्स सहितको स्वाथ्यकर्मीको टोली पनि रहन्छ । अवलोकनकर्ताहरुले एकदमै ढुक्क भएर मेलामा प्रवेश गर्नसक्नुहुन्छ ।

स्वास्थ्यको कारणले यहाँहरुलाई कुनै पनि समस्याहरु पर्ने छैनन् । २ वर्षसम्म आयोजना नभएको मेलाहामीले यो वर्ष गर्दैछौं । कतिलाई विगतमा हुने मेलाहरु स्थगित भएको कारणले पनि आउने इच्छा भए पनि व्यवस्थापन के–कस्तो छ, स्वास्थ्यका हिसावले कस्तो छ भन्ने कुराहरुको जिज्ञासा लाग्न सक्छ । तर, हामीले सम्पूर्ण कुराहरुको एकदमै राम्रो व्यवस्थापन गरेका छौं । निर्धक्क भएर मेलाको अवलोकन गर्न हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछु ।

You might also like

Comments are closed.