जब कृषि क्षेत्रको विकास हुन्छ, तब मात्र देशको समृद्धि सम्भव हुन्छ । ६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि नेपालको कृषि अवस्था अझै दयनीय छ । हाम्रो कृषि परम्परागत ढाँचामा सीमित छ, जसले आर्थिक विकासमा अपेक्षित योगदान दिन सकेको छैन । प्रविधिको युगमा पनि हामी हलो, बैँल, वर्ष र परम्परागत बिउमा निर्भर हुन्छौँ, जसले उत्पादन घटाउने मात्र नभई किसानले आफ्नो मिहिनेतको उचित मूल्य पाउन नसक्ने अवस्था सिर्जना गरेको छ ।
कृषि क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड हो । तर यसको अवस्था चुनौतीपूर्ण छ । सिंचाईको अभाव, गुणस्तरीय बिउ र मलको कमी, बजार व्यवस्थापनमा कमजोरी, कृषि बिमा प्रणालीको अभाव, र नीतिगत अस्थिरता यस क्षेत्रका मुख्य समस्या हुन्। उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउने, भण्डारण र यातायात अभावमा बाली नष्ट हुने समस्या निरन्तर देखिन्छ ।
सबैभन्दा चिन्ताजनक पक्ष भनेको युवाहरुको कृषिप्रतिको कम रुचि हो । आजका अधिकांश युवा वैदेशिक रोजगारतर्फ आकर्षित छन् र खेतीलाई “पुरानो पुस्ताको पेशा” भनेर हेर्छन् । यसको परिणामस्वरूप गाउँमा श्रमशक्ति घट्दै गएको छ र बिनाकृषि बारीहरू बाझो हुँदै गएका छन् । जब देशका उर्जावान युवा विदेशतिर जान्छन्, गाउँमा प्रायः वृद्ध र बालबालिका मात्र बाँकी रहन्छन् ।
तर कृषि केवल हलो र खेतको कुरा मात्र होइन । यो आधुनिक प्रविधि, बजार व्यवस्थापन र नवप्रवर्तनको विशाल क्षेत्र हो । आजका पुस्ता शिक्षित र प्रविधिमा दक्ष छन् । यदि युवाहरू कृषि उद्यमशीलताको बाटो समात्छन् भने, यो क्षेत्र देशकै सबैभन्दा फस्टाउने उद्योग बन्न सक्छ । आधुनिक उपकरण, ड्रिप सिंचाई, हाइड्रोपोनिक खेती, दुग्ध उद्योग, अर्गानिक खेती र एग्रो टुरिजम जस्ता अवसरहरू युवाको हातमा छन् ।
सरकारले युवालाई कृषि उद्यममा आकर्षित गर्न व्यवसायिक तालिम, सस्तो ऋण, बीमा योजना र बजार संजाल उपलब्ध गराउनुपर्छ । त्यसैगरी विद्यालय र क्याम्पस स्तरमै कृषि उद्यमशीलता र व्यवहारिक शिक्षा समावेश गर्न आवश्यक छ। युवाले बुझ्नुपर्छ कि कृषि अब केवल खेतमा कमाउने पेशा मात्र होइन, यो व्यवसाय, नेतृत्व र नवप्रवर्तनको क्षेत्र हो ।
नेपालको कृषि भविष्य अझै उज्यालो बन्न सक्छ, यदि नयाँ पुस्ताले आफ्नै माटोमा सम्भावना खोज्ने साहस गर्छ । परदेशमा अस्थायी आम्दानीको लागि पसिना बगाउन भन्दा, आफ्नै देशमा माटोसँग जोडिएर स्थायी पहिचान र समृद्धि निर्माण गर्नु सच्चा विकास हो। कृषि हाम्रो संस्कृति, पहिचान र अस्तित्व हो । जब युवा पुस्ताले यसमा नेतृत्व लिन्छ, तब मात्र कृषि प्रधान नेपाल बाट कृषि समृद्ध नेपालको सपना पुरा हुन्छ ।








Comments are closed.