पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको निधन

पोखरा । उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बलराम तिमिल्सिनाको २०७८ साल श्रावण २० गते साँझ काठमाडौंको ग्राण्डी इन्टरनेसनल अस्पतालमा निधन भएको छ । कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै पोखराको चरक अस्पतालमा उपचार गराएका तिमिल्सिनालाई कोभिड रिपोर्ट नेगेटिभ आएपनि फोक्सोमा समस्या देखिएका कारण करिब एक महिनाअघि काठमाडौंको ग्राण्डी अस्पताल लगिएको थियो ।

फोक्सो तथा मृगौलामा थप समस्या देखिएसँगै थप उपचार गराइरहेका बेला उनको दुःखद निधन भएको हो । २०२९।०४।१३ गते माता भीममाया तिमिल्सिना तथा पिता नारायण तिमिल्सिनाको जेष्ठ सुपूत्रको रुपमा पोखरा–१०, रामघाटमा जन्मिएका बलराम तिमिल्सिनाले २०५० को दशकबाटै आफूलाई व्यवसायमा समर्पित गरेका थिए । पोखराको अमरसिंह चोकमा त्रिरत्न भाँडा पसलको नामबाट व्यवसाय सुरु गरेका तिमिल्सिना लामो समयसम्म पोखरा उद्योग वाणिज्य संघको साधारण सदस्यको रुपमा क्रियाशिल थिए भने हाल कार्यसमितिको सदस्यको रुपमा आफ्नो जिम्मेवारी निभाइरहेका थिए ।

भाँडा व्यवसायमा संलग्न रहेका उनी पोखरा भाँडा व्यवसायी संघका पूर्वअध्यक्ष तथा विभिन्न सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय थिए । उनको पार्थिव शरीरको बिहीबार पोखराको रामघाटमा अत्येष्टि गरिएको छ । उनका आमासहित धर्मपत्नी वसुन्धरा तिमिल्सिना तथा एक सुपुत्री तथा सुपत्र रहेका छन् ।

कार्यसमितिका जिम्मेवार सदस्यको रुपमा रहेका तिमिल्सिनाको निधनबाट संघलाई अपूरणीय क्षति मात्र भएको छैन, एकपछि अर्को शोकले मर्माहत बनाएको छ । व्यवसायसँगै सामाजिक क्रियाकलाप एवं व्यावसायिक हित रक्षाको लागि क्रियाशिल उनको निधनबाट समाजले एक होनाहार व्यक्तित्व पनि गुमाएको छ ।

You might also like

Comments are closed.