काठमाडौं । बरुण इन्भेष्टमेन्ट लि.को सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लि. नियुक्त भएको छ । बरुण इन्भेष्टमेन्ट लि. ले सर्वसाधारण (कम्पनीका कर्मचारी र सामुहिक लगानी कोष समेत) लाई छुट्याएको १५ लाख कित्ता साधारण सेयरको सार्वजनिक निष्कासन गर्नका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।
काठमाडौंमा एक कार्यक्रमका बीच उक्त कम्पनी र क्यापीटलबीच सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता भएको हाे । सम्झौतापत्रमा बरुण इन्भेष्टमेन्ट लि.को तर्फबाट अध्यक्ष शिवप्रसाद घिमिरे र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरेका छन् ।
वि.सं २०७७ सालमा पब्लिक कम्पनीको रुपमा स्थापना भई ललितपुरको भनिमण्डल–४ मा रजिष्टर्ड कार्यालय रहेको यस बरुण इन्भेष्टमेन्ट कम्पनीको अधिकृत पुँजी ६० करोड र जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ ।
संस्थापक समूहको ७७ प्रतिशत सेयर रहेको कम्पनीमा १७ जना संस्थापक सेयर धनीहरुबाट ४० करोड बराबरको सेयरपुँजी चुक्ता भइसकेको छ । बरुण इन्भेष्टमेन्ट रजिष्ट्रारको कार्यालयमा विधिवतरुपमा दर्ता भइ विशेष गरी उर्जा क्षेत्रमा लगानी गर्ने कम्पनीमा पर्दछ ।
यस कम्पनीमा एस.जि ग्रुप मुख्य लगानीकर्ताको रुपमा रहेको छ । बरुण इन्भेष्टमेन्ट लि. ले बझाङस्थित कलंगा हाईड्रो लि (१५.३३ मेगावाट), सानीगाड हाईड्रो लि (३८.४७ मेगावाट) र बुङगल हाईड्रो लि (१०.७० मेगावाट) गरी ३ हाईड्रो कम्पनीमा कुल ६४.४९ मेगावाटमा मुख्य लगानीकर्ताको रुपमा रहेको छ ।
हालै पनि बरुण इन्भेष्टमेन्टले संखुवा खोलामा हाईड्रो प्रवद्धन गर्ने तयारीमा रहेको गुराँस हाईड्रो प्रा.लि (४१.०६ मेगावाट) मा पनि लगानी प्रतिवद्धता जनाएको छ । बरुण इन्भेष्टमेन्टले भविष्यमा थप अन्य हाईड्रो पावर, होटेल, कृषिलगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी रहेको कम्पनीका संस्थापक अध्यक्ष शिवप्रसाद घिमिरे बताए ।
घिमिरे एस.जि ग्रुपका अध्यक्षसमेत हुन् । बरुण इन्भेष्टमेन्टमा मुख्य लगानिकर्ताका रुपमा रहेको एस.जि ग्रुपको एल.पि.जि ग्यास बोटलिङ्ग, पेट्रोलियम पदार्थ वितरण, अटोमोबिल, चिया, निर्माण, बैंकिङलगायत विभिन्न क्षेत्रमा लगानी रहेको छ ।
Comments are closed.