विदेशबाट फर्केर मौरीपालनमा रमाउदै भागीमान पुन !

काठमाडौं । पछिल्लो समयमा नेपाली युवाहरुको व्यवसायिक कृषितर्फ आकर्षण बढ्दो देखिएको छ । अहिले विदेशमा गएका युवाहरुले त्यहाँ सिकेको सिपलाई कृषिमा प्रयोग गरिरहेका छन् । व्यवसायिक कृषितर्फ विशेष गरी विदेशमा धेरै वर्ष विताएको युवाहरूको जमात नै लागेको भेटिन्छन् ।

यही अवस्थामा जीवनको उर्जाशिल दुई दशक वैदेशिक रोजगारीका सिलसिलामा खाडी मुलुकमा बिताएपछि यतिबेला रुकुमपूर्व भूमे गाउँपालिका-३ का ४४ वर्षे भागीमान पुन गाउँघरमै कृषि पेशामा रमाउन थालेका छन् ।

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनले यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन् । खाडी मुलुकमा काम गर्दा औसत मासिक रू ३० हजार कमाउने उनले अहिले भने मासिक औसतमा रू २५ हजार कमाइरहेको बताए । विदेशमा दुःख गरे जस्तो कमाइ नभएपछि उहाँ स्वदेश फर्किएर कृषि कर्ममा लागेका हुन् ।

jutta mela

“पहिले लेकभरि भैँसी बगाल हुन्थे, घरको गुजारा यसैबाट चलेको थियो”, भागीमानले भने, “संकटकाल लागेपछि मेरो सबै सम्पत्ति सकियो र म विदेशिन बाध्य भएँ ।” विदेशमा पनि कमाइ राम्रो नभएपछि स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यका मौरीपालन व्यवसाय सुरु गरेको उनको भनाइ छ । भागीमानले सेराना जातको मौरी पालेका छन् ।

उनी भन्छन्, “घरमा अहिले ३७ वटा माहुरीका घार छन् । वार्षिक आम्दानी रू तीन लाखको हारहारीमा भइरहेको छ ।” विदेशमा घामपानी, भोक, निद्रा नभनी काम गर्दा हुने आम्दानीभन्दा स्वदेशमै सुरु गरेको व्यवसायबाट भएको आम्दानी धेरै ठूलो भएको उनको भनाइ छ ।

भागीमानले विसं २०७६ देखि बङ्गुरपालन पनि गर्दै आएका छन् । सुरुमा एउटा भाले र दुईवटा माउबाट सुरु गरेको बङ्गुरपालनबाट पनि राम्रो आम्दानी हुने गरेको उनी बताउछन् ।

उनका अनुसार अहिले पुनसँग एक भाले र चार बङ्गुरका माउ छन् । बङ्गुरको पाठा, मासु बिक्री वितरणबाट पनि मासिक रू २० हजार आम्दानी भइरहेको उनको भनाइ छ । यसरी स्थानीयस्तरमा व्यवसाय गर्नेलाई प्रोत्साहनस्वरुप स्थानीय सरकारले सहयोग गरिदिए हुन्थ्यो भन्ने भागीमानलाई लागेको छ ।

You might also like

Comments are closed.