अनुकूल मौसममा पनि देखिएनन् बेगनास तालमा पर्यटक

लेखनाथ । यतिबेला पर्यटक आउने अनुकूल मौसम हो, तर लेखनाथको पर्यटकीय गन्तव्य बेगनास तालमा यसपटक फाट्टफुट्टा मात्र पर्यटक देखिएपछि डुङ्गा व्यवसायीका मुहारमा खुसी देखिएन ।

कोरोनाकै कारण तीन वर्षदेखि घटेका पर्यटक सङ्ख्या यस वर्ष पनि नबढेपछि बेगनासका डुङ्गा व्यवसायी चिन्तित मात्र हैन, उनीहरूको व्यवसाय नै धरापमा परेको छ । सार्वजनिक बिदाका दिन केही मात्रामा बेगनास पुग्ने गरेका आन्तरिक पर्यटकमध्ये ५० प्रतिशतले मात्र डुङ्गा चढेर ताल गुम्ने गरेका कारण व्यवसायीलाई थप निराश बनाउने गरेको बेगनास ताल डुङ्गा व्यवसायी समितिका अध्यक्ष रवीराज कँडेलले बताए ।

“यतिबेला बिदाका दिन पनि प्रर्याप्त मात्रामा पर्ययक छैनन्, गत दसैँ र तिहारमा केही मात्रामा बाहिरी जिल्लाका पर्यटक देखिएको भए पनि त्यसपछि पर्यटक देख्न पाइएको छैन”, अध्यक्ष कँडेलले भने, “बेगनास तालमा भएका दुई सय ५४ डुङ्गामा अहिले प्रतिदिन १० मात्र चल्ने गरेका छन् ।”

jutta mela

उनका अनुसार आज चैते दसैँ भएकै कारण केही पर्यटक बढ्छन् कि भनेर २५– ३० जना डुङ्गा व्यवसायी ताल किनारको डुङ्गा घाटमा आए तर आज बिहानदेखि एक बजेसम्म जम्मा चार डुङ्गा मात्र चलेका छन् । माछाका परिकारका लागि बेगनास ताल वर्षौदेखि प्रसिद्ध मानिँदै आएको भए पनि त्यस्ता परिकार खान पोखरा तथा आसपासका क्षेत्रबाट बेगनास पुग्ने पर्यटक पनि विस्तारै घटेको अध्यक्ष कँडेलले उल्लेख गरे ।

आर्थिक मन्दीका कारण माछा खाने पर्यटकको सङ्ख्या पनि घटेको अनुमान छ डुङ्गा व्यवसायी टीकाराम तिवारीको । “कोरोनाअघि नौका बिहार गर्न स्वदेशी तथा विदेशी पर्यटक खचाखच हुने बेगनासमा तीन वर्षदेखि पर्यटक खोज्नुपर्ने अवस्था आयो”, तिवारीले भने, “अहिले ति दिन सम्झना मात्र रहने भए ।” कोरोनाका कारण कारण व्यवसाय नै नचलेपछि बेगनास तालका २५ प्रतिशत डुङ्गा व्यवसायी विस्थापित भएको र केही डुङ्गा व्यवसायी विदेश पलायन हुने क्रम बढिरहेको जानकारी तिवारीले दिए ।

पोखराका नौ तालमध्ये बेगनास ताल क्षेत्रफलको रुपमा दोस्रो ठूलो ताल मानिन्छ । तीन सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएको बेगनास तालमा डेढ सय डुङ्गा व्यवसायी र दुई सय ५४ डुङ्गा सञ्चालनमा रहेका छन् । वरिपरि बस्ती नभएकै कारण तालको पानी सफा भएकाले पोखराको लेकसाइडस्थित फेवा तालमा भन्दा बेगनासमा अन्तरिक एवं बाह्य पर्यटक आउन मन पराउने गरेको डुङ्गा व्यवसायी वसन्तराम कँडेलले बताए ।

“पर्यटक कम भएकै कारण डुङ्गा व्यवसायीले आलोपालो गरेर डुङ्गा सञ्चालन गर्दै आएका छौँ, हप्तामा एक दिन पनि पालो आउँदैन”, डुङ्गा व्यवसायी अरुण अधिकारीले भने, “तीन वर्ष अघि डुङ्गा व्यवसायबाट प्राप्त पैसाले घर खर्च चल्थ्यो अहिले नुन–तेल किन्न पनि पैसा पुग्दैन ।”

बेगनास तालमा एक घण्टा नौका बिहार गरेवापत व्यवसायीले रु सात सय र पाइडलबोटको रु एक हजार लिने गरिएको छ । डुङ्गाबाट ताल वरपरका जङ्गल, बेगनास तथा माझठाना गाउँ, अन्नपूर्ण हिमश्रृङ्खला, कालिकाको ठूलाकोट, तथा बेगनासको सुन्दरी डाँडाको मनमोहक दृष्र्यावलोकन गर्न सकिन्छ ।

बेगनास तालमा विसं २०३७ देखि डुङ्गा सञ्चालन हुँदै आएको भए पनि सङ्गठित रुपमा विसं २०५२ देखि सञ्चालन भएको हो । विसं २०५२ अघिसम्म गाउँगाउँमा सडक नखुल्दा यहाँको डुङ्गा व्यवसाय नौका बिहार मात्र नभई कास्कीका गाउँ बेगनास, माझठाना, सैमराङ, भाचोक, मिजुरेडाँडा र लमजुङको पर्यटकीय पसगाउँवासीले डुङ्गामार्फत छोटो बाटोको रुपमा प्रयोग गर्दै आएका थिए ।रासस

You might also like

Comments are closed.