भगतकृष्ण स्मृति फुटसल सम्पन्न, इन्जेक्टर समूह प्रथम

ललितपुर । अटो मेकानिक्स व्यवसायी संघको आयोजनामा चौथो संस्करणको फुटसल प्रतियोगिता सम्पन्न भएको छ । संस्थापक अध्यक्ष भगतकृष्ण श्रेष्ठको स्मृतिमा ‘भगतकृष्ण स्मृति फुटसल’ प्रतियोगिता शनिबार आयोजना गरिएको हो ।

ललितपुरको लगनखेलस्थित क्याम्पेन स्कुलको फुटसल ग्राउण्डमा आयोजित प्रतियोगिताको उद्घाटन फुटसल प्रतियोगिताका संयोजक फुलबहादुर लामा (माइला)को सभापतित्वमा भएको हो । नेपाल अटोमेकानिक्स व्यवसायी संघका कार्यबहाक अध्यक्ष रामप्रसाद भट्टराई (दाल प्रसाद) र स्वर्गीय भगतकृष्ण श्रेष्ठका छोरा सुनिल श्रेष्ठले रेफ्री रवीन्द्र रिमाललाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

प्रतियोगितामा अटोमेकानिक्स व्यवसायी संघका सदस्यहरु आबद्ध ८ वटा समूह सहभागी थिए । जस अन्तगृत इन्जेक्टर समूह प्रथम भएको छ भने टर्वो समूहले द्वितीय स्थान हासिल गर्न सफल भएको छ । सस्पेन्सन समूहले तृतीय स्थान हासिल गरेको छ । प्रतियोगिताको समापन कार्यक्रम कार्यबहाक अध्यक्ष रामप्रसाद भट्टराई (डालप्रसाद)को अध्यषतामा भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यले व्यवसायसँगै खेलकुदका गतिविधिमा आबद्ध हुनु राम्रो पक्ष रहेको बताइन् । प्रमुख अतिथि शाक्यले अटो मेकानिक्सहरुले आफ्नो पेशामार्फत दिन रात नभनी सवारी साधनमा भएको अरबौको लगानीलाई सुरक्षित गरेको छ भन्दै प्रशंसा गरिन् । अटो मेकानिक्सहरुसँग सहकार्य गरि बेरोजगारीको समस्या समाधान गर्न महानगरपालिकाले आफ्नोतर्फबाट भुमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरिन् । खेलकुदले शारिरीक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै आफ्नो पेशा ब्यवसायबाट केहि समय निकालि खेलकुदमा लाग्न आग्रह गरिन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै संघका निबर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले संस्थापक अध्यक्षको स्मृतिसँगै व्यवसायीहरुलाई खेलकुदमार्फत आपसी एकता र भाइचारा विकास गर्न प्रतियोगिता आयोजना गरिएको बताए । अटोमेकानिक्स व्यवसायलाई व्यवस्थित गर्न स्थानीय तहको अहम भूमिका रहने बताउँदै सरकारले पनि ध्यान दिनुपर्ने बताए ।

अटो वर्कसपको व्यवस्थापनका लागि एकीकृत अटो वर्कसप आवश्यक भएको र त्यसका लागि स्थानीय तहले चासो दिनुपर्ने उनको भनाइ छ । नेपालमा बेरोजगारी बढेको भन्दै विदेशिने क्रम बढिरहेको स्मरण गर्दै न्यौपानेले अटो क्षेत्रमा मात्रै हजारौं मानिसलाई रोजगारीको अवसर रहेको र त्यसका लागि दक्ष जनशक्ति उत्पादन जरुरी रहेको बताए ।

You might also like

Comments are closed.