गहुँ आयात गरी नेपालका उद्योगलाई बचाउन राज्य लाग्नुपर्छ : कर्माचार्य (अन्तर्वार्ता)

बिक्रम कर्माचार्य, महासचिव, विस्कुट उत्पादक संघ

भारतबाट गहुँ आयात नहुँदा नेपालमा गहुँ र मैदाको चरम अभाव देखिएको छ । मैदा अभावमा यहाँका उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । बजारमा मैदा पाइएपनि मूल्य आकासिए पछि उपभोक्ता मारमा परेका छन् । यसैक्रममा मैदा अभावले उद्योग क्षेत्रमा देखिएको समस्याहरुमा केन्द्रित रहेर विस्कुट उत्पादक संघका महासचिव बिक्रम कर्माचार्यसँग आर्थिक आवाजले गरेको कुराकानीः

बजारमा मैदाको अभाव देखिएको छ । मैदा अभावमा विस्कुट उद्योगहरुले के–कस्ता समस्या भोगिरहेका छन् ?
गहुँ तथा मैदाका लागि नेपाल भारतसँग निर्भर जस्तै छ । भारतबाट गहुँ तथा मैदा आयात हुन नसक्दा नेपालमा धेरै प्रकारका उद्योगहरु बन्द हुने अवस्थामा पुगिसकेका छन् । अन्य उद्योगले जस्तै विस्कुट उद्योगले पनि गहुँ र मैदा अभावले संकट व्यहोरिरहेको अवस्था छ । अधिकांश उद्योग बन्द हुने अवस्थामा छन् र केही उद्योगले आंशिक मात्रै फ्याक्ट्रि चलाइरहेको अवस्था छ । गहुँ आयात गर्न नेपालले पहल गर्नुपर्ने हो त्यो पहल हुन सकेन वा पहल गर्दा गर्दै पनि सार्थक हुन नसक्दा आजको दिनमा नेपालको मैदा मिलसँग गहुँको मौज्दात छैन् । त्यसकारण हिजो हामीले ५० रुपैयाँमा किनेको मैदा आज सय रुपैयाँमा किन्नुपर्ने स्थिति आइसकेको छ ।

मैदा अभाव भइरहने हो भने भोलिको दिनमा के–कस्ता समस्या आउने सम्भावना देख्नुहुन्छ ?
भारतमा ५० रुपैयाँ केजीमा मैदा किन्ने र हामी नेपालको विस्कुट उद्योगले सय रुपैयाँमा मैदा किनेर उत्पादन गर्दा उहाँहरुसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योगहरु बन्द गर्नुपर्ने स्थिति आइसकेको छ । आगामी दिनमा मैदा अभाव हुने र बजारमा मैैदा पाएपनि अत्याधिक महंगो हुने वातावरण बन्यो भने त्यो दुर्भाग्य नै हुन्छ । धेरै उद्योगहरु बन्द हुनेछन् । हजारौंको रोजगारी गुम्ने र राज्यले रावश्वसमेत गुमाउने अवस्था सिर्जना हुनेछ । त्यसकारण गहुँ र मैदा आयातलाई सहज बनाउने र सहज रुपमा उपलब्ध हुने वातावरण राज्यले बताउनुपर्छ ।

jutta mela

गहुँ आयात खुलाउन माग गर्दै तपाईंहरु आन्दोलनको तयारीमा लाग्नुभएको हो ?
गहुँको अभावमा उद्योगहरु बन्द हुने अवस्थामा पुगेपछि नेपालका उद्योगहरुले धेरै समस्या भोगिरहेका छन् । विस्कुट उद्योगमात्रै होइन कुकिज, चाउचाउलगायत मैदा जन्य सबै उद्योगहरु संकटमा छन् । यस्तो अवस्थामा हामीले राज्यलाई दबाब दिनुको विकल्प नै छैन् । राज्यले बुझ्नुपर्ने कुरा हो । हामीले राज्यको ढोका ढक्ढक्याइरहेका छौैं । गहुँ आयात सहज गराउन मागसहित हामीले उद्योग मन्त्रालयमा पटक–पटक डेलिकेशन गएका छौं । तर, सरकारले यो कुरालाई गम्भीर रुपमा लिइरहेको छैन् । अझै पनि यस्तै स्थिति ररिरहने हो, गहुँको आपूर्ति व्यवस्था नमिलाउने हो र मैदाको आपूर्ति व्यवस्था नमिलाउने हो भने नेपालमा रहेका समग्र उपभोक्ताहरुले रोटी पनि खान नपाउने स्थिति छिट्टै आउने छ ।
गहुँ र मैदा अभावको दीर्घकालीन समाधान गर्न सकिदैन ?
राज्य लाग्यो भने अवश्य सकिन्छ । कृषि मन्त्रालयले यहाँको गहुँको उत्पादनलाई वृद्धि गर्नु नै यसको दीर्घकालीन समाधान हो । हामीले आन्तरिक गहुँको उत्पादनलाई बढाउन सकेनौं भने यहाँ रहेका जतिपनि खाद्यान्न उद्योगहरु छ तिनीहरुको भविष्य देखिदैन । यहाँको खाद्यान्न उद्योगको लागि हामीले दीर्घकालीन रुपमा कृषि उत्पादनलाई वृद्धि गर्न जरुरी छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
काठमाडौंकै कुरा गर्ने हो भने आजको दिनमा मैदाको रेट सय रुपैयाँ पुगिसकेको छ । अझै पनि सरकारले यस विषयमा चासो दिइरहेको छैन् । यस्तै स्थिति रहिरहने हो भने नेपालको सम्पूर्ण उद्योग धन्दाहरु बन्द भएर नेपालको राजश्वमा ठूलो नकारात्मक असर पर्नेछ । त्यसकारण पनि हाम्रो कुरालाई सरकारले छिटो भन्दा छिटो बुझेर आपूर्तिको व्यवस्था मिलाओस् र यहाँको उद्योग धन्दा बन्द हुनबाट बचाओस् भन्ने हाम्रो माग छ ।

You might also like

Comments are closed.