काठमाडौं । नेपाल जनस्वास्थ्य संघ (नेफा) को उपाध्यक्षमा बिमला भट्टले उम्मेदवारी दिएकी छन् । आगामी पुस २४ गते हुने निर्वाचनमा भट्टले उम्मेदवारी दिएकी हुन् । निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।
यस अगाडि नेपाल जनस्वास्थ्य संघको चुनावमा सबैभन्दा बढि मत ल्याएर उनी केन्द्रीय सदस्यमा बिजयी भएकी थिइन् । सन् १९९० मा संस्था स्थापना भएदेखि नेफाको इतिहासमा पहिलो पटक केन्द्रीय समितिको उपाध्यक्षमा महिलाको उम्मेदवारी परेको हो । उनी पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्सेजको निर्देशकमा कार्यरत छन् ।
बिगत २० वर्षदेखि जनस्वास्थ क्षेत्रमा क्रियाशील भट्टले त्रि. वि. आइओएम महाराजगञ्जबाट प्रमाणपत्र नर्सिङ र बि.पि.एच. तथा बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एम. पि. एच. अध्ययन गरेकी छन् । भट्टले त्रिविबाटै समाजशास्त्र तथा जनस्वास्थ्यविषयमा समेत स्नातकोत्तर अध्ययन गरेकी छन् ।
जनस्वास्थ क्षेत्रमा महिलाको आकर्षण बढाउन आफूले काम गर्ने उनले बताएकी छन् । आफू पीछडिएको क्षेत्रबाट भएको हुनाले जनस्वास्थ्य शिक्षा अध्ययन र अनुसन्धानको माध्यमबाट देशका हरेक जनसमुदायमा जनस्वास्थ्य अधिकारको लागि सशक्त पहल गर्न आफ्नो उम्मेदवारी रहेको उनले बताइन् । ‘विशेष गरि महिला, दलित, उत्पीडित र पीछडिएको समुदायको जनस्वास्थ्य अधिकारका लागि म काम गर्नेछु,’ उनले भनिन् ।
कोभिड १९ को महामारीले संसारलाई एउटा नयाँ शिक्षा दिएको बताउँदै उनी स्वास्थ्य क्षेत्रको व्यवस्थापन एउटा सामुहिक प्रयासद्वारा मात्र सम्भव हुने बताउँछिन् । चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, वैकल्पिक चिकित्साकर्मी, समाजशास्त्री, मानवशास्त्री तथा थुप्रै बिधा र क्षेत्रको संयुक्त अभियानबाट स्वस्थ व्यक्ति र समाजको निर्माण सम्भव हुने उनको भनाइ छ ।
नेपाल जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाडौंमा हुनेछ ।
Comments are closed.