‘विरानो सहर’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । आज किन गाउँ छाडेको याद आयो सानी, तिम्रै यादले कुटुकुटु मुटु खायो सानी । गीतकार डा राजुबाबु श्रेष्ठको यस्तै शब्दमा विरानो सहर गीत सार्वजनिक भएको छ ।

प्रेमिकालाई गाउँमा छाडेर अर्थोपार्जनका लागि सहर पस्न बाध्य भएको एक युवाको कथालाई गीतमा समेटिएको छ । वर्तमानको दुःख र भविष्यमा आइपर्ने संकटप्रति सचेत हुँदै सहरमा पुगेर संर्ष गरिरहेको युवाको कथा यसमा छ ।

अनिर मास्केको संगीत रहेको गीतमा युवा पुस्ताका लोकप्रिय गायक विश्व नेपालीले स्वर दिएका छन् । सचिन सिंहले एरेञ्ज गरेको गीतको भिडियोलाई निर्देशन, छायांकन र सम्पादन निशान घिमिरेले गरेका छन् । भिडियोमा गायक नेपालीसँगै मोडल रक्षा थापा बस्नेतले अभिनय गरेको गीतकार श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि गीतकार डा राजुबाबु श्रेष्ठ र सङ्गीतकार अनिर मास्केको संयुक्त प्रयासमा ‘विरानो गाउँमा’ नामक गीत सार्वजनिक भएको थियो । गीतमा गायिका मिलन नेवारले स्वर दिएका छन् । विरानो गाउँ गीतकै निरन्तरताका रुपमा विरानो सहर तयार भएको संगीतकार मास्केले जानकारी दिए ।

उनले भने, ‘विरानो गाउँमा प्रेमी सहर जाँदा प्रेमिकाले व्यक्त गरेको भावलाई समेटिएको छ भने विरानो शहरमा प्रेमीले प्रेमिकालाई गाउँमा छाडेर आउँदाको अनुभूति समेटिएको छ ।’

You might also like

Comments are closed.