काठमाडौं । बिराटनगर किंग्सले टिमको गौरव, साहस र आफ्नो शहरसँगको सम्बन्धलाई समर्पित गरिएको नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ ।
धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण यो गीतले बिराटनगरको भावनालाई प्रतिनिधित्व गर्दछ । यसले खेलाडी र समर्थकलाई बिराटनगर किंग्सलाई साँच्चैको किंग्स बनाउने उत्साह, दृढता र पहिचानको भावनासँग एकाकार गर्दछ ।
भिडियोमा बिराटनगर र त्यहाँका मानिसहरूको ऊर्जा, उत्साह र समर्पणको भावनालाई रंगीन दृश्यहरू मार्फत प्रस्तुत गरिएकाले एन्थम जीवन्त बनेको छ । साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका समर्थकहरू उत्साहले भरिएका देखिन्छन् । जो आफ्नो टिमको पक्षमा चियर गर्दै खुशी मनाउँदैछन् । शहरको ऊर्जा र समर्थकको जोश गीतको शक्तिशाली र जीवन्त सुरसँग मेल खाएको छ, जसले गौरव, जोँश र एकताको भावनालाई प्रतिबिम्बित गर्दछ ।
गीतको हुक लाइन “लगा लगा लगा” क्रिकेटमा प्रयोग हुने “शट लगा” भन्ने चलनचल्तीको बोलीबाट आएको हो । जसको अर्थ “शट हान” भन्ने हुन्छ । यो खेलाडीलाई उत्साह भर्ने बोली हो जसले अगाडि बढ, हिम्मत गर र मौकाको सदुपयोग गर भन्ने अर्थ दिन्छ । यो टिमको हिम्मत नहार्ने भावना र दृढ सङ्कल्पको प्रतीक हो । यो विजय हासिल गर्ने सोँच हो र कोरसले पनि त्यही विजयको उत्सव मनाएको छ ।
गीतमा रहेको “लेट्स गो किंग्स” र “आयो पूर्वेली शिकारी” ले पूर्वको निर्भीक पहिचानलाई झल्काउँछ । जो आफ्नो जराप्रति गर्व गर्छन्, लक्ष्यमा अडिग रहन्छन् र सधैं जितको यात्रामा अघि बढ्छन् । संगीतको ताल पनि आत्मविश्वासले भरिएको छ, ठ्याक्कै त्यस्तै ऊर्जा खेलाडीमा पनि रहेको छ जो केवल जर्सी मात्र होइन, आफ्नो प्रदेशको गौरव पहिरिएर मैदानमा उत्रिन्छन् ।
एन्थम भिडियो लिंक (https://youtu.be/rwCuGCintsI)
बिराटनगर किंग्सको बारेमा :
बिराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेश प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज हो । क्लबको उद्देश्य स्थानीय प्रतिभा उजागर गर्नु, खेलभावनालाई प्रवद्र्धन गर्नु र प्रशंसक तथा समुदायसँग सक्रिय रूपमा जोडिएर कोशी प्रदेशलाई गौरव दिलाउनु हो ।








Comments are closed.