काठमाडौं । बिराटनगर किंग्सले आफ्नो १५ सदस्यीय टिमलाई २ हप्ताको हाइ–पर्फर्मेन्स ट्रेनिंगका लागि भारतको मुम्बईमा अवस्थित अन्तर्रराष्ट्रिय स्तरको सुविधा भएको Omtex ICWC Cricket Institute मा पठाएको छ ।
मंगलबार प्रस्थान गरेको टिमका लागि यो प्रशिक्षण आगामी नेपाल प्रिमियर लिग सिजन २ को तयारीमा महत्वपूर्ण कदम मानिएको छ । प्रशिक्षण अवधिभर खेलाडीहरूले अभ्यास, फ्रेन्ड्ली खेलहरू तथा व्यवसायिक कोचहरुको निर्देशन प्राप्त गर्नेछन्, जसले उनीहरूको खेल कौशल र टिमवर्क सुधार गर्ने अपेक्षा गरिएको छ ।
मुम्बईको Omtex ICWC Cricket Institute अत्याधुनिक सुविधा र उच्चस्तरीय प्रशिक्षण कार्यक्रमका लागि परिचित छ। खेलाडीलाई श्रीलंकन तथा अन्तर्राष्ट्रिय अनुभवप्राप्त कोचहरूले तालिम र कन्सल्टेसन प्रदान गर्नेछन् । यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोजरले खेलाडीहरूलाई उच्चस्तरको क्रिकेटका लागि आवश्यक कुराहरू बुझ्न मद्दत गर्नेछ ।
टोलीले फ्लड–लाइटको उज्यालोमा पनि अभ्यास गर्नेछ, जसले रातिको खेलमा खेल्ने अनुभव पनि बढाउनेछ। यसले विभिन्न खेल परिस्थितिमा खेलाडीहरूलाई सहज हुन मद्दत पुर्याटउने अपेक्षा गरिएको छ ।
बिराटनगर किंग्सले यस पहललाई खेलाडी विकासका लागि ठूलो लगानीको रुपमा हेरेको छ । व्यवस्थापनको विश्वास छ कि यस्ता अवसरहरूले खेलाडीको व्यक्तिगत प्रदर्शन मात्र होइन, टिमको प्रतिस्पर्धी क्षमता पनि बढाउनेछ र टोली अझ सक्षम र आत्मविश्वासी बनेर फर्किने र गौरवका साथ बिराटनगर किंग्सको प्रतिनिधित्व गर्नेछ ।








Comments are closed.