भक्तपुरमा बिस्का जात्रा सुरुहुँदै

लक्ष्मी गारु,भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आइतबारबाट सुरुआत हुँदैछ । नव वर्षको आगमनसँगै सुरु हुने बिस्का जात्रा आइतबार साँझ तमारीस्थित पाँचतले मन्दिर अगाडिबाट नकिंजु अजिमाको रथलाई घटखामा पु¥याएर भैरवनाथको रथ तानातान गर्दै सुरु गरिन्छ । जात्रा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ । जात्रामा रौनकमा झुम्नेसँगै सुरक्षाको चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।

काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट थने (माथिल्लो) र क्वने (तल्लो) टोलमा तानेर लैजाने परम्परा छ । रथ तान्नुअघि भैरवनाथको विधिवत पूजा गरी रथमा खड्ग, तरबार, निशान राख्ने गरिन्छ । रथको अगाडि भागमा पाँच र पछाडि चारवटा लामो डोरी राखिएको हुन्छ । जात्रालुले सोही डोरीको माध्यमबाट रथलाई तानेर आ–आफ्नो टोलमा लैजाने गर्दछन् । जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । रथलाई तानेर तल्लो वा माथिल्लो टोल जहाँ लैजान सकिन्छ, त्यस टोलको विजय भएको मानिन्छ ।

जात्राको पहिलो दिन भैरवनाथको रथ तानेर क्वने (तल्लो) टोलको तमारी, बुलुचा, घट्खा, नासमना, मुलाखु, वशंगोपाल, तेखापुखु र थने (माथिल्लो) टोलको क्वाछेँ, साकोठा, सुकुलढोका, गोमारी, सोङ्गलो, दत्तात्रयसम्म रथ तानेर पुनः गःहिटीमा पु¥याई जात्रा सम्पन्न गरिन्छ । रथ तानेर लैजाँदा दत्तात्रय मन्दिर अगाडिको भीमसेन मन्दिर र बेतालको मुख जुधाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ ।

जात्राको दास्रो दिन शून्य भनिन्छ । तेस्रो दिन गःहिटीमा भैरवनाथलाई बली चढाई गुठी संस्थानद्वारा सरकारी पूजा गरिन्छ । उक्त बलिपूजाको मासु प्रसादका रूपमा लाकुलाछेवासीलाई बाँडिन्छ, जसलाई स्थानीय भाषामा ‘स्याःक्वःत्याःक्वः’ भनिन्छ ।

बिस्काको चौथो दिन बिहान तालाक्वस्थित कुमाले टोलमा ल्हामरु म्ह (हात नभएको) लिङ्गो उभ्याइन्छ भने साँझपखः तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी ल्योसिङख्योमा ५५ हात लामो लिङ्गो उभ्याइन्छ । लिङ्गो उभ्याउने जात्रा बिस्काको अर्को आकर्षण रहेको छ । पुरानो वर्ष बिदाइ र नयाँ वर्षको आगमनको पूर्वसन्ध्यामा लिङ्षे उभ्याउने गरिन्छ । भैरवनाथको प्रतीक मानिने लिङ्गोको शीर्षभाग र हात नीलो कपडाले बेरिएको हुन्छ ।

लिङ्गोको कोखामा झुण्ड्याइएका दुई ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ । एक जोडी ध्वजा फुकाएपछि एउटा संवत् फेरिने हुनाले बीचमा फुकाएर हेर्न नमिल्ने धार्मिक मान्यता छ । लिङ्गो उभ्याउन बाँधिएका आठवटा डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । लिङ्गो उभ्याउने क्रममा नवदुर्गा देवगण त्यहाँ उपस्थित हुन्छन् भन्ने मान्यता छ । लिङ्गो उभ्याउने जात्रा सकिएपछि तलेजुमा दुमाजुको तान्त्रिक विधिपूर्वक पूजा गरी जात्रा गरिने परम्परा छ । त्यसपछि न्हेसटो (सात सय टोल)मा अवस्थित बाराहीको तिंप्वाः जात्रा र खौमाको इन्द्रायणी देवीको त्वारीवा जात्रा गरी शक्तिपीठमा लाने परम्परा छ ।

बिस्का जात्रा हेर्नाले शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भनिन्छ । यस दिन भैरवनाथ र भद्रकालीको रथ पनि लिङ्गो उभ्याउने स्थानमा पु¥याइन्छ । बिस्का जात्राको पाँचौँं दिन अर्थात् नयाँ वर्ष वैशाख १ गतेका दिन साँझ अघिल्लो दिन उभ्याएको ५५ हाते लिङ्गो ढालिन्छ । लिङ्गो ढाल्नुभन्दा पहिला भैरव र बेतालको विधिवतरूपमा पूजा गरिन्छ । ढालिसकेपछि भैरवनाथ र भद्रकालीको रथलाई गाहिटी पु¥याई एकाापसमा जुधाइन्छ । जसलाई स्थानीय भाषमा खःल्वाकिगु जात्रा भनिन्छ । यसै दिन राति तलेजुमा तान्त्रिक विधिपूर्वक दुमाजु देवीको पूजा गरी जात्रा गरिन्छ ।

बिस्काको छैटौँ दिन महाकाली र महालक्ष्मीको जात्रा गरिन्छ भने सातौँ दिन ब्रम्हायणी र महेश्वरी देवीको चिराग बालेर मुस्याप्वा जात्रा मनाइन्छ । खलाँमा परदेशी भीमसेनको जात्रा गरिन्छ । यसै दिन बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रासमेत गरिन्छ । आठौँ दिनमा नगरका सबै देवीदेवतालाई बाहिर राखेर क्षमासहितको पूजा गरी सगुन जात्रा मनाइन्छ । जसलाई स्थानीय भाषामा द्यःस्वगं वियगु जात्रा भनिन्छ । यस दिन साँझ चोछेंमा छुमा गणेशको जात्रा गरिन्छ ।

जात्राको अन्तिम दिन भैरवनाथको रथलाई गःहिटीबाट पहिलो दिनमा जस्तो थने र क्वने टोलका बासिन्दाबाट तानातान गरी रथलाई तमारीस्थित भैरवनाथको प्राङ्गणमा पु¥याई जात्रा सम्पन्न गरिन्छ ।

सूर्यमासका आधारमा चल्ने बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमिमा प्राप्त नेपाल संवत् ५ सय को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायका रूपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए । “भक्तपुर तमारीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलोपल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपाल संवत् ८ सय ८ र ८ सय १८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको सङ्कल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ ।” उनले भने, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क, बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्तीसमेत गलत भएको दाबीसमेत गरेका छन् । बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नाग–नागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको उनको भनाइ छ । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतीक लिङ्गोमा फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबर्जस्ती बि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ । उनले भने, “नाम, प्रमाण र भाषा विज्ञानकै साहारा लिएर भन्ने हो भन्ने बि को अर्थ हो पुरानो । नवदुर्गा गणलाई वि त्वंकेगु भन्दा तान्त्रिक विधि पुर्वक पुरानो रगत खुवाउने प्रचलन अहिलेसम्म चलिआएको छ । स्यातको अर्थ मारियो हो तर बिस्क, बिस्कामा कहाँ क हरायो त भन्ने मेरो प्रश्न हो ? स्यातबाट कसरी स्का हुन गयो ? यो जात्राको विषयमा अहिलेसम्म चलेका प्रमाण, अभिलेखक र मल्लकालीन राजा जगत्प्रकाश मल्लदेखि शाहवंशीय राजा त्रिभुवन, ज्ञानेन्द्र र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले फेरेका हलिपतमा हेर्न हो भन्ने विश्व केतु, वीर ध्वजा लेखिएको छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा हो । वीर ध्वजा हो भन्ने कुरा स्पष्ट छ । यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो । त्यस मानेमा पनि यो ध्वाजा विश्व ध्वाजा र वीर ध्वाजा मान्न सकिन्छ । तर जनमानसमा यो नाग–नागिनी भनेर प्रचलित छ, यो गलत हो ।”

जात्रामा पहिलो र अन्तिम दिन रथ तान्ने क्रममा र लिङ्गो उठाउने बेलामा झडप हुने गरेको छ । त्यसैले सम्भावित झडप रोक्न र जात्रालाई व्यवस्थितरूपमा सम्पन्न गर्न यस वर्ष दिउँसो नै भैरवको रथ तान्ने तयारी भएको छ । रातको समयमा जात्रा सञ्चालन हुँदा रथले किचेर मानिसको मृत्यु हुने र जात्रा सञ्चालन हुने स्थानका संरचनामा क्षति पुग्ने भएकाले दिउँसो जात्रा सुरु गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन् ।

उनले जात्रालाई मर्यादित र समयमै शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न चरणबद्धरूपमा सरोकारवालासँग छलफल गरेर रणनीति तयार गरेको बताइन् । नौ दिनसम्म चल्ने जात्राका लागि आवश्यकताअनुसार सुरक्षाकर्मी परिचान गर्ने पूरा तयारी भइसकेको महानगरीय प्रहरी प्र्रमुख शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जात्राका लागि ९ सय ५० नेपाल प्रहरी, ४ सय सशस्त्र प्रहरी परिचालन गरिने छ । आवश्यकता परे थप सुरक्षाकर्मी परिचालन गर्ने गरी तयारीसहित जात्रामा उच्श्रृृङ्खल गतिविधि गर्ने र हुलदङ्गा मच्चाउन खोज्नेको पहिचान गर्न व्यापकरूपमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गर्ने उनको भनाइ छ ।

रथमा अनियन्त्रित तरिकाले अत्यधिक मानिस चढ्ने र त्यसले गर्दा रथबाट खसेर घाइते हुनुका साथै रथले किचेर ज्यानसमेत जाने गरेकाले त्यसलाई नियन्त्रण गर्न रथमा भैरव नाइके, गुथी र आवश्यक पदाधिकारी मात्र चढ्ने व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताइन् ।

जात्रामा हुलदङ्गा गर्नेको पहिचानका लागि चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको जानकारी दिँदै उनले सो क्यामेराको फुटेजका आधारमा जात्रापछि पनि प्रमाणका आधारमा नियन्त्रणमा लिई कारबाही गरिने बताइन् । जात्रामा हुलदङ्गा गरी सुरक्षा व्यवस्थामा खलल पु¥याउनेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।

You might also like

Comments are closed.