१० वर्षमा पनि बनेन पुल     

गोदावरी । कैलालीको भजनी नगरपालिका–५ र ३ वडाको सीमा भएर बग्ने कान्द्रा नदीमा निर्माण थालिएको पुल एक दशकदेखि अलपत्र छ । पुल नबन्दा स्थानीयवासी जोखिम मोलेरै डुङ्गाबाट नदी तर्दै आएका छन् ।भजनी नगरपालिका, स्वास्थ्य चौकीलगायत स्थानमा आउजाउ गर्न डुङ्गाको जोखिमपूर्ण यात्रा गर्नु परेको भजनी–५ लालबोझीका रतनराज रेग्मीले बताए ।

सो नदीमा एक दशकअघि निर्माण थालिएको पुल अलपत्र हुँदा बर्खायाममा नदीमा अत्यधिक बाढी आएका बखत आवतजावत नै बन्द हुने जानकारी दिँदै उनले भने, “बाढीका कारण डुङ्गा नचल्दा बिरामी र सुत्केरीलाई अस्पताल लैजान समस्या हुने गरेको छ ।”

बर्खायामका तीन महिना बालबालिका, महिला र वृद्धवृद्धालाई नदी तर्न समस्या हुने गरेको छ । डुङ्गाको यात्रा जोखिमपूर्ण हुने भएकाले काम विशेषले नगरपालिकालगायत अन्य स्थानमा जाँदा बेलुकी घर नपुगेसम्म घरपरिवार चिन्तित हुने गरेका उक्त नगरपालिका–५ का डम्मर जैसीले बताए ।

डुङ्गामा सो नदी तर्दा एकपटकको रु १० र मोटरसाइकलसहित भए रु ३० शुल्क तोकिएको छ । हुलाकी राजमार्गअन्तर्गत भजनी–५ र ३ ठेकी जोड्ने उक्त नदीमा पुल निर्माणका लागि २०६८ साल जेठ ३१ मा निर्माण कम्पनी लामा–शाल्पा–शेर्पा–विरुवा जेभीसँग सम्झौता भएको थियो । तेस्रोपटक थपिएको अवधि सकिँदा पनि निर्माण कम्पनीले पुलका चारवटा स्पानमध्ये दुईवटाको काम मात्र सम्पन्न गरेको जनाइएको छ । सय मिटर लामो र सात दशमलव दुई मिटर चौडो सो पुलको लागत रु चार करोड ४३ लाख रहेको छ ।

You might also like

Comments are closed.