बीमा सर्भेयरबाट निष्पक्ष मूल्यांकन नै बीमितको सन्तुष्टि

ई. बुद्धिराज अधिकारी

पीडित वा बास्तविक पीडित पक्षसँगको प्रत्यक्ष सम्बन्धमा सर्वप्रथम बीमा सर्भेयर अर्थात बीमा मध्यस्तकर्ताको उपस्थिति रहने गर्दछ । पहिले बीमा सर्भेयर भन्ने गरिन्थ्यो भने अहिले बीमा ऐन २०७९ आएपछि यो व्यवसायलाई बीमा मध्यस्तकर्ता भनेर सम्बोधन भएको छ ।

कुनैपनि क्षतिको अवस्थामा परेको पीडा असहज हुन्छ । असहज अवस्थामा सहजताका साथ कार्यसम्पादन गर्न सक्नु नै सर्भेयरको प्रशंसनीय कार्य हो । बीमा व्यवसायको उन्नति र प्रगतिका लागि सर्भेयरको भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्दछ । समग्र बीमा उद्योगको महत्वपूर्ण स्टेक होल्डर सर्भेयर हुन् । सर्भेयरको निष्पक्ष मुल्यांकन गर्ने परिपाटीबाट नै बीमा उद्योगको उन्नति र प्रगति हुने हो । आगामी दिनमा अझै सुदृढ र स्तरीय रिपोर्ट तयार पार्ने परिपाटीको विकास हुन पनि आवश्यक छ ।

बीमा प्राधिकरण, बीमा कम्पनी र सर्भेयरहरु एउटै यात्रामा छौं । हामी सबै राष्ट्रको उन्नति र प्रगतिका लागि समर्पित भएर काम गर्नुपर्ने हुन्छ । कम्पनी र ग्राहकबीचमा सेतुको भूमिका खेल्ने भएकाले निष्पक्ष भाव रहनु अत्यन्तै आवश्यक छ । कुनै घटना हुँदा बीमा कम्पनीहरुले सर्भेयरहरुलाई नै खटाउने हो । सर्भेयरहरु सर्बप्रथम घटनास्थल पुग्छन्, त्यसकारण बीमा कम्पनीहरुसँग सर्भेयरहरुको साख पनि जोडिएको हुन्छ ।

jutta mela

बीमा ऐन २०७९ को परिच्छेद ११ मा बीमा मध्यस्तकर्ता सम्बन्धी व्यवस्था गरिएको छ । बीमा ऐनले क्षतिग्रस्त सम्पत्तीको आर्थिक मूल्यांकन इजाजत प्राप्त व्यक्तिलाई बीमा सर्भेयर वा बीमा मध्यस्तकर्ताको रुपमा परिभाषित गरेको छ । सर्भेयरले निर्जीवन बीमातर्फ दूर्घटना हुँदा त्यसको सम्पूर्ण क्षति विवरण निरीक्षण गरेर त्यसप्रति सम्बन्धित आवश्यक पर्ने सम्पूर्ण जानकारी तथा कागजात संकलन गरी सबै प्रतिवेदन बीमा कम्पनीमा पेस गर्ने गर्दछन् । बीमा कम्पनीले सोही प्रतिवेदनको आधारमा दावी भुक्तानी दिने गर्दछन् । सर्भेयर बन्नका लागि निश्चित योग्यता आवश्यक भएकाले यो व्यवसायमा खासगरी इन्जिनियरिङ र चार्टर एकाउन्टेन्ट बिधाबाट आउने गरेका छन् । बीमा व्यवसायमा १० वर्षसम्म अधिकृतस्तरको काम गरेका व्यक्तिलाई पनि इजाजत पत्र दिने व्यवस्था छ । सर्भेयर बन्नका लागि न्युनतम योग्यता र बीमा प्राधिकरणबाट प्रदान हुने तालिमहरु लिएपछि सर्भेयरको इजाजत प्राप्त गर्न सकिन्छ ।

बीमा व्यवसायको विकासको पहिलो सर्त नै बीमा बापतको बास्तविक दाबी भुक्तानी हो भने बीमा सर्भेयरबाट निष्पक्ष मूल्यांकन नै बीमितको सन्तुष्टि पनि हो । त्यस्तो कार्य सम्पादन गर्न सर्भेयरहरुलाई चुनौति पनि हुन्छ । स्वतन्त्र भूमिका निर्वाह गर्दै आएका सर्भेयरलाई व्यावसायिक निष्ठा, पेशागत मर्यादा र यसको गुणात्मक पक्षलाई सुदृढ बनाउनुपर्ने आजको आवश्यकता हो । बीमा व्यवसायलाई गतिशील बनाउन सर्भेयरहरुको प्राविधिक दक्षता, पारदर्शिता र सर्भेयर कार्यको अनुसन्धानको क्रममा पीडित बीमितलाई बीमा दावी सुरक्षित छ भन्ने भरोसा दिलाउनु र ढुक्क हुने वातावरण बनाउनु पर्ने दायित्व सर्भेयरहरुको काँधमा छ ।

बीमा कम्पनीबाट हामीलाई घुमाउरो पारामा दबाब र व्यापारी तथा बीमितबाट पनि दबाब आउन सक्छ । हामी आफ्नो पेशाप्रति न्याय हुने गरी निष्पक्ष भएर काम गर्नुपर्छ । सबै मिलेर काम गर्दा बीमाको विकासमा योगदान पुग्न सक्छ ।

लेखक अधिकारी शुभ जगदम्बा इन्जिनियरिङ कन्सल्ट प्रा.लि.का प्रवन्ध निर्देशक हुन् ।

 

You might also like

Comments are closed.