निजी क्षेत्रको प्रतिक्रिया : बजेट महत्वाकांक्षी, कार्यान्वयनको पाटो अस्पष्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आइतबार प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रका विभिन्न संघ–संस्थाहरुले मिश्रित प्रतिकृया दिएका छन् । ग्रिन इकोनोमीको कुराले बैंक तथा वित्तीय संस्थाहरु उत्साही देखिए पनि योजनाहरुको कार्यान्वयनको पक्षलाई लिएर कतिपयले चिन्ता व्यक्त गरेका छन् ।

मंगलम इन्डष्ट्रिजका म्यानेजिङ डिरेक्टर अभिनव चुरिवालले महत्वाकांक्षी योजना कार्यान्वयनमा प्रश्न गरेका छन् । उनले गत वर्षहरु जस्तै यस वर्ष पनि धेरै महत्वाकांक्षी बजेट आएको तर कार्यान्वयनको पक्ष भने स्पष्ट नरहेको बताए ।

साथै उनले भनेका छन्- राष्ट्रिय स्तरका ठूला आयोजनाहरू योजना, गति र लागत नियन्त्रणका साथ सञ्चालन गर्न सरकारको भूमिका अपरिहार्य देखिन्छ । सरकारको राजस्व र अन्य अनुदान कोषहरु संकलन गर्ने लक्ष्य अत्यन्त महत्वाकांक्षी छ र विगतको अनुभवको आधारमा भन्नुपर्दा यो संकलन हुन राम्रै गृहकार्य गर्नुपर्ने देखिन्छ । उनले उद्योग प्रवर्द्धन र संरक्षणका लागि उल्लेखनीय व्यवस्था गरिएकाले धेरै मानिसहरूलाई उद्योगहरू स्थापना गर्न र स्थापित उद्योगहरूलाई विस्तार गर्न प्रोत्साहित बताए ।

jutta mela

त्यस्तै, एनएमबी बैंकका सिइओ सुनिल केसीले कृषि र उर्जामा लगानी बढाउनु सकरात्मक भएको प्रतिक्रिया दिएका छन् । उनले आगामी आर्थिक वर्षको बजेटले व्यापार घाटा सन्तुलन र भुक्तानी सन्तुलनको विद्यमान समस्या समाधान गर्न खोजेको बताए । त्यस्तै, बजेटले निर्यात प्रवद्र्धन गर्ने र आयात प्रतिस्थापन गर्ने नीति अंगिकार गरेको बताउँदै उनले कृषि र ऊर्जामा लगानी बढाउने कुरा सकारात्मक भएको प्रतिक्रिया दिए ।

त्यस्तै, कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले आगामी आर्थिक वर्षको बजेटमा २ लाख युवालाई रोजगारी दिने भनिएको कुरा अत्यन्तै स्वागत योग्य रहेको र यो निकै चुनौतीपूर्ण रहेको पनि बताएका छन् ।

उनले सरकारी कर्मचारीहरुको तलब अहिले १५ प्रतिशतले बढेको बताउँदै त्यो बढी तलब हुने कर्मचारीको हकमा फाईदाजनक नै भएता पनि कम आय भएका कर्मचारीहरुलाई खासै फरक नपर्ने बताए । यसले महँगी अझै बढ्ने र महँगीको प्रभाव कम आय भएका व्यक्तिहरुमा अझै धेरै पर्ने उनको भनाई छ । साथै उनले उत्पादनमा आधारित अर्थतन्त्र निर्माण, रोजगारी सिर्जना र उच्च आर्थिक वृद्धिजस्ता कुराहरु राम्रो सुनिए पनि कार्यान्वयनको पक्षमा खासै स्पष्टता नदेखिएको बताएका छन् ।

You might also like

Comments are closed.